हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । सोमबार साँझ महाकाली माविको प्रांगणमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङले बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गर्नुभएको हो । घोषणा सभाका प्रमुख अतिथि समेत रहनु भएका तामाङले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रुपमा अघि बढेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका नगर खोप समन्वय समितिका अध्यक्ष एवं बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले घोषणालाई सार्थक र दिगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका लागि सबैसँगको सहकार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । बेलौरी नगरपालिकाका नगर उपप्रमुख चित्रकुमारी चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष नेत्रराज गिरी र स्वास्थ्य शाखामा कार्यरत इन्द्रा गुरुङले आफ्ना धारणा राख्दै पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणालाई सफल बनाउने महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, स्थानीय सबैलाई धन्यवाद दिनुभयो ।
पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणाका लागि यही चैत्र १ गतेदेखि १७ गतेसम्म बेलौरी नगरपालिकाका स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूको संयुक्त टोली १० वटै वडाहरूमा परिचालन भई घरधुरी सर्भेक्षण गरिएको थियो । त्यसक्रममा नगरपालिका भित्र बस्ने लक्षित उमेर समुहका सबै बालबालिकाहरूले ११ रोगका विरुद्ध खोप सेवा प्राप्त गरिसकेको हुँदा वडा हुँदै नगरपालिकालाई समेत पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको बेलौरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख चेतराज भट्टले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बेलौरी नगर क्षेत्र भित्र जन्मेदेखि १५ महिनासम्मका जम्मा १ हजार ३९ बालबालिका रहेको छन् । उनीहरूलाई खोप लगाउने क्रम जारी रहेको छ । त्यस्तै नगर क्षेत्र भित्र १६ महिनादेखि २३ महिनासम्मका जम्मा ५८७ बालबालिका रहेकोमा ५५८ बालबालिकाहरूलाई मापदण्डअनुसार खोप दिइएको छ भने २९ जना बालबालिका नगर क्षेत्र बाहिर रहेको पाइएको छ । सोमबार आयोजित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रममा सबै वडाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक बहादुर कुँवरले कञ्चनपुरको भीमदत्त नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकिएको बताउनुभयो । अब छिट्टै भीमदत्त नगरपालिकालाई समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरी कञ्चनपुर जिल्लालाई समेत घोषणा गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । लालझाडी गाउँपालिकालाई समेत सोमबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावलले बताउनु भयो । पुनर्वास नगरपालिकालाई पनि सोमबार नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले जानकारी दिनुभयो ।