कञ्चनपुरको दक्षिणी भेगमा निर्माणाधीन डोकेबजार–दैजी हुलाकी सडक आयोजनाको काम सुस्त गतिमा भएको भन्दै स्थानीयहरुले शनिबार २ घन्टा सडक बन्द गरेका छन् । पुनर्वास नगरपालिकाको दोदा पुलमा स्थानीयहरुले ढुंगामुढा लगाएर बिहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म बाटो बन्द गरेका थिए । २०७३ माघ महिनामा ३० महिना भित्र काम सक्नेगरि ठेक्का दिएको शर्मा राजेन्द्र जेभी कन्स्ट्रक्सनले सम्झौता समय सकिनै लाग्दा समेत ५० प्रतिशत पनि काम सम्पन्न नगर्दा स्थानीय आक्रोशित बनेका हुन् । बेलौरी – पुनर्वास – धनगढीको बाटो धुलोले आक्रान्त बनाएको छ ।
उक्त सडकको प्रगति विवरण बारे फोनबाट ठेकेदार कम्पनीका इन्जिनियर रोशन भट्टसंग बुझ्दा उनले भने “काम पहिले अलि सुस्त गतिमा भएको पक्कै हो तर अहिले कामलाई तिब्रता दिईएको छ । डोकेबजारदेखि दोदा नदि सम्म हामीले जसरी पनि असार मसान्तसम्म कालोपत्रे गर्छौँ । हामीले बेस बनाएर लगेका छौं । स्थानीयबाट दबाब दिनु हामीले सकारात्मक रुपमै लिएका छौं । स्थानीयहरु जागरुक हुनु राम्रो कुरा हो । यस सडकमा पानी हाल्ने सन्दर्भमा पानी नियमित हाल्न लगाएका छौँ तर केहि रोकिएको होला । यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउछौं ।”
प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीयदलका प्रमुख सचेतक तारालामा तामाङले भने “यस अघि ठेकेदारले काममा अनियमितता गर्न थालेपछि हामीले निरन्तर निगरानी गरेका छौँ । ठेकेदार कम्पनीले दोदा नदि सम्म कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ । काम छिटो गराउनका लागि नेताहरुले कुनै चासो नदिएको भन्ने होइन । हामी यसलाई कसरी छिटो बनाउन सकिन्छ, लागेकै छौँ । अर्कोकुरा नियमित पानी हाल्ने भनेको थियो कहि हाल्ने कहिँ नहाल्ने भईरहेको रहेछ त्यसलाई पानी हाल्न लगाउनु पर्छ । यस सडक प्रति स्थानीयको चासो हुनु धेरै राम्रो हो तर काम नै अवरुद्ध हुनेगरी आन्दोलन गरियो भने चैँ ठेकेदारले बहाना पाउँछ अनि काम अझै ढिलो गर्छ । त्यसतर्फ पनि सचेत रहनुपर्छ ।”
पटकपटक हुलाकी सडक निर्माणमा तिव्रता दिने अभियानमा लागेका नेकपाका नेता पल्लव राज भट्टले ठेकेदार कम्पनीले अहिले कामलाई तिब्रता दिएको बताए । उनका अनुसार ठेकेदार कम्पनीसंग स्थानीयको प्रत्यक्ष सम्पर्कमा काम अघि बढेको छ । ठेकेदार कम्पनीले गरेका विभिन्न प्रतिबद्धता पूरा हुन सक्ने की नसक्ने भन्ने स्थितिले भने आशंका उब्जिएको उनले बताए ।
आन्दोलनको नेतृत्व गरेका स्थानीय युवा हेमन्त रेग्मीले भने “ठेक्का लिएर सडक अलपत्र बनाउने ठेकेदार कम्पनीको लापरबाहीको विरुद्धमा आन्दोलन गर्नु परेको छ । ठेकेदार कम्पनीले असारसम्म सम्म दोदापुल सम्म कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता अनुसारको काम भए नभएको नियमित अनुगमन गरिने छ । नियमित पानी हाल्ने समेत प्रतिबद्धता भएको छ । पानी हालिएन भने पुनः आन्दोलन गर्नेछौ ।”
आन्दोलनको नेतृत्व गरेका अर्का स्थानीय युवा हिमेश थापाले काम छिटो गराउन र धुलो नियन्त्रण गरी काम सम्पन्न होस् भनी दबाब दिन सडक बन्द कार्यक्रम गरिएको बताए । उनले ठेकेदार कम्पनीले ३० महिनामा सक्ने गरी ठेक्का लिएको सडक ठेक्का अवधि सकिनै लाग्दा ५० प्रतिशत पनि काम सम्पन्न नभएका कारण संघर्ष गर्नुपरेको बताए ।
आन्दोलनका मागहरु यस्ता थिए :
पहिलो खण्डको निर्माण गरिरहेको शर्मा राजेन्द्र जेभीलाई पहिलो खण्डको लागि काम नगरी यसैबाटो हुँदै तेस्रो खण्डका लागि टिप्पर लैजान नपाउने, काम तिव्र गतिमा अधि बढाउन स्थानीयहरुसंग ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयले प्रतिबद्धता गर्नुपर्ने, बाटोमा धुलो उड्न नदिन नियमितरुपमा सबै ठाँउमा पानी हाल्नुपर्ने, बाटो बिग्रेको ठाँउमा रोलर लगाउदै काम अघि बढाउनु पर्ने जस्ता मागहरु राखिएका थिए ।
यस्तो छ हुलाकी सडकको प्रगति विवरण :
आयोजनाको पहिलो खण्ड डोकेबजारदेखि आईबिआरडी हुँदै बुट्टाबारीसम्मको सडकको काम ५०% पनि हुन सकेको छैन । ३० महिनामा काम सम्पन्न गर्ने गरि २०७३ माघमा शिलान्यास भएको मोहना-डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडक खण्डको निर्माणको काम कछुवा गतिमा अधि बढेको छ ।
तत्कालीन भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको यस हुलाकी सडक खण्डको कालोपत्रेको शर्मा राजेन्द्र जेबि कन्स्ट्रक्सनले ० किलोमिटर डोकेबजार देखि २० किलोमीटर बुट्टावारी सम्मको जिम्मा पाएको थियो । कम्पनीले ३० महिनामा सम्पन्न गर्नेगरि कुल ३६ करोड ४७ लाख ९९ हजार ८ रुपैयाँकोको बजेटमा ठेक्का पाएको होभने विभिन्न कारणमा ठेकेदारलाई बजेट थप गरिएको छ । हाल यस सडकखण्डको माटो भराई र ग्राभेलेङको काम हुँदैछ ।
यसैगरि दोस्रो खण्ड बुट्टाबारी देखि बेलडाँडी सम्मको २० किलोमिटर देखि ४० किलोमिटर सडक निर्माणको लागि टेन्डर बाबा हाउस सिद्धिशाहीले लिएको थियो । यसको लागत ४१ करोड ४१ लाख ४९ हजार १२ रुपैयाँ ६३ पैसा भ्याट सहित रहेको छ । यस सडकखण्डको कार्य प्रगति भने शर्मा राजेन्द्र जेबिले भन्दा अलि छिटो गरेको छ ।
अन्तिम खण्डका लागि बेलडाँडी देखि दैजी सम्म ४० देखि ६२ किलोमीटरको टेन्डर पनि शर्मा राजेन्द्र जेबि कन्सट्रक्सनले पाएको थियो । जसको कुल लागत ३८ करोड ५७ लाख ३२ हजार ५८ रुपियाँ रहेको छ । भ्याट सहित तिनै खण्डको ६२ किलोमीटर यस सडकको कुल बजेट १ अर्ब १७ करोडमा सुरुवाती सम्झौता भएपनि पछी बजेट थप गरिएको छ ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यस सडक भएर दैनिक हजारौं साना तथा ठुला सवारीसाधन आवतजावत गर्ने गर्दछन । यस मोहनापुल-डोके बजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडकको ६२ किलोमीटर गुणस्तरीय डबललेन स्तरको ७ मिटर चौडा, माटोको चौडाइ ११ मिटर रहने तथा दुबै तर्फ २-२ मिटरको सोल्डर बनाइने प्रारम्भिक स्टिमेट हो भने यसमा केहि फेरबदल समेत गरिएको छ ।