कञ्चनपुर, १७ जेठ । भारतमा ठूलो संख्यामा डाँकाहरुलाई आत्मसमर्पण गराएर शान्तिदूतका रुपमा परिचति डा. एस एन सुब्बाराव शुक्रबार महेन्द्रनगर आएका छन् । सीमावर्ती भारतीय नानकमत्तामा युवा शिविरमा सहभागी ९१ वर्षिय सुब्बा राव गड्डाचौकी नाका भएर महेन्द्रनगर आएका छन् । महेन्द्रनगरस्थित आदर्श विद्यालयमा विद्यार्थीहरुलाई प्रवचन दिएका उनले झोलुङ्गे पुल भ्रमण गरेका छन् । उनी शुक्रबार भारत फर्किएका छन् । गड्डाचौकीमा रावलाई स्वागत तथा सम्मान गरिएको छ । भीमदत्त नगरपालिका र लाइन्स क्बल अफ महाकालीले उनलाई सम्मान गरेको छ ।
लाइन्स क्बलले राखेको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई रावलाई खादा ओढाएर सम्मान गरे । उनले रावलाई भीनपाको तर्फबाट झोलुङ्गे पुलको तस्बीर र विजयसालको गिलास उपहार स्वरुप प्रदान गरे । यसैगरी लाइन्सले रावलाई खादा ओढाएर सम्मान गरेको छ । गड्डाचौकीस्थित ब्यारेजमा गरिएको कार्यक्रममा रावलले जय जगतको गीत मार्फत आफ्नो धारणा व्यक्त गरे । ‘बसुधैब कुटुम्बको धारणा दिएर अघि बढेका छौ, हिन्दू धर्म मुस्लिम धर्म भन्ने केही होइन, सबै बराबरको हौ’ उनले भने,‘रङ्गभेद, जातपाती सबै छाडि दिनु पर्छ, शान्तिका लागि अघि बढ्नु पर्छ ।’
संयुक्त राष्ट्र संघले सम्मान प्रदान गरेका रावले सन् १९७२ देखि १९७६ सम्म भारतका विभिन्न सहकार ६ सय ५४ डाँकाहरुलाई आत्मसमर्पण गराएका थिए । रावले आत्मसपर्मण गराएका डाँकालाई तत्कालिन भारत सरकारले नियन्त्रण गर्न नसकेको उनका सहयोगीले बताए । भारतमा मदर टेरेसापछि रावले युएनमा सिधैै आफ्ना कुरा राख्न पाउने अधिकार पाएका छन् । ‘सरकार असफल भएको थियो, त्यस्तो बेलामा समेत बन्दूक होइन मुखले डाँकाहरुलाई आत्मसपर्मण गराए’ ती सहयोगीले भने,‘बसुधैब कुटुम्बको नाराले अघि बढी राख्नु भएको छ ।’
राव भारत सरकारको तेस्रो ठूलो पदक पदम भुषणबाट सम्मानित भई सकेका छन् । त्यस कारण उनलाई पदमभुषण डा. एए एन सुब्बारावले परिचित छन् । नानकमत्तामा सञ्चालन गरिएको शिविरमा भारतका १६ राज्यका ५ सय बढी विद्यार्थी सहभागी छन् । गड्डाचौकीको स्वागत तथा सम्मान कार्यक्रममा भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले शान्तिका लागि रावको योगदान विश्व जगतकै लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै समानतामा आधारित शान्तिका लागि सबै पक्षले लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा लाइन्स क्लबका डा. भोजराज पन्त, माधव प्रसाद भट्ट, जगदीशचन्द्र भट्ट लगायतका सहभागी भएका छन् ।