हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ चैत्र । कञ्चनपुरको बेलौरीका विभिन्न क्षेत्रमा संयुक्त अनुगमन गरिएको छ । निड्स नेपालको दक्षता परियोजना, सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र किसान २ परियोजनाबाट सञ्चालित तरकारी बाली र पोल्ट्री फार्म वर्कर तालिमको संयुक्त अनुगमन गरिएको हो । नगरस्तरीय सरोकारवालाहरुको अनुगमन टोलीले बेलौरी नगरपालिका वडा नम्बर ८ र १० मा बुधबार अनुगमन गरेको हो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको संयोजकत्वमा खटिएको अनुगमन टोलीमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख चित्र कुमारी चौधरी, कृषि विकास शाखाका प्रमुख सुमन राज जोशी, रोजगार सेवा केन्द्रका रोजगार संयोजक नरेश प्रसाद भट्ट, निड्स नेपालका सहसचिव दुर्गा खरेल तथा अन्य प्रतिनिधिहरु, स्थानीय साझेदार संस्थाहरु सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र किसान २ परियोजनाका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा बेलौरी नगरपालिका वडा नम्बर ८ मा बेमौसमी तरकारी बालीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले व्यावसायिक कृषि पेसामा लागेका कृषकहरुलाई नगरपालिकाले समेत अनुदानमा सहयोग गरिरहेको बताउनुभयो । नगरपालिकाले विभिन्न बालीमा पकेट क्षेत्र समेत सञ्चालन गरिरहेको जानकारी दिनुहुँदै नगर प्रमुख चौधरीले कृषकहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नगर उपप्रमुख चित्र कुमारी चौधरीले कृषि पेसाबाटै आत्मनिर्भर बन्न सके रोजगारीका लागि भौतारिन नपर्ने बताउनु भयो । त्यस्तै, किसान २ परियोजनाका जनक आचार्य र सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका राजेन्द्र बहादुर सिंहले कृषकहरुलाई सक्दो सहयोग गरिएको बताउनु भएको छ ।
बेलौरी र बेलडाँडीमा क्रियाशील रहेको सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पालिकासँगको समन्वयमा यहाँका कृषकहरुलाई अनुदानमा गहुँ र धानको विउविजन वितरण गरेको छ । त्यस्तै, कृषि ज्ञान केन्द्र र किसान २ परियोजनाको सहयोगमा ५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराएको छ । त्यस्तै, समूहको विधान तयार गरी समूह गठन गर्ने र समूहको माग अनुसार सहकारीबाट विउविजन उपलब्ध गराउने कार्य समेत गरिएको सचिव लक्ष्मी भट्टले जानकारी दिनुभयो । त्यस्तै, सहकारीले बेलाबेलामा प्राविधिक सहयोग समेत गरिरहेको पाइएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्तामा रहेको प्रगती राना महिला कृषि समुह मार्फत टनेलमा काक्रा लगाइएको कृषक फूलमति रानाले बताउनु भयो । त्यस्तै, त्यहाँका कृषकहरुले बेमौसमी लौका, बोडी, काक्रा र भिण्डी तथा मकै खेती समेत गरेका छन् । ती कृषकहरुलाई सिँचाइ लगायतको सहयोग गरिएको सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका जेटिए अनिता रानाको भनाइ छ । सोही अनुगमन टोलीले बेलौरी नगरपालिका वडा नम्बर १० मा पोल्ट्री फार्म वर्कर तालिमको समेत अनुगमन गरेको छ । तालिमबारे पोल्ट्री फार्म वर्कर तालिमका प्रशिक्षक हेमन्त उपाध्यायले विश्लेषण गर्नुभएको थियो । तालिममा सहभागीहरुले भारतीय क्षेत्रबाट अबैध रुपमा भित्र्याइने कुखुरा, चल्ला, अण्डा र दाना आयातमा पूर्ण प्रतिबन्ध लगाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
बेलौरी नगरपालिका कृषि विकास शाखा र रोजगार सेवा केन्द्रसँगको समन्वय तथा विभिन्न साझेदार संस्थाहरुसँगको सहकार्यमा निड्स नेपालको दक्षता परियोजनाले बेलौरीका विभिन्न क्षेत्रमा तालिम सञ्चालन गरिरहेको छ । बुधबार मात्रै बेलौरी नगरपालिका वडा नम्बर ३ का २० जनालाई बेमौषमी तरकारी खेती सम्बन्धी तीन महिने तालिम सञ्चालन गरिएको दक्षता परियोजनाका संयोजक विनोद कडाराले जानकारी दिनुभयो । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० मा २० जनाका लागि पोल्ट्री फार्म वर्कर तालिम सञ्चालन गरिएको छ । यसअघि पनि बेलौरीका विभिन्न क्षेत्रमा कुखुरा पालन तथा बेमौषमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको निड्स नेपालका मनराज उपाध्यायले बताउनु भयो ।