हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ चैत्र । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) केन्द्रीय समितिको बाह्रौं बैठक सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुर जिल्लामा बुधबार प्रारम्भ भएको छ । केन्द्रीय समितिका अध्यक्ष रितुराज सापकोटाको अध्यक्षतामा प्रारम्भ भएको कार्यक्रममा एन–प्याब्सनका प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, सल्लाहकारहरु डा. भोजराज पन्त, दुर्गा जोशी, पाण्डव हमाल, वरिष्ठ उपाध्यक्षहरु ज्ञानेन्द्र मोहन भट्टराई, प्रकाश बहादुर पाण्डेय, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश प्रमुखहरु श्याम सिंह मौनी (सुदूरपश्चिम), कमल बहादुर सिंह (कर्णाली), सुबोद डांगी (लुम्बिनी), यम बहादुर खड्का (गण्डकी), प्रबोद प्रभाकर रिजाल (बागमती), जय बहादुर श्रेष्ठ (प्रदेश नम्बर १), महासचिव सुवाश न्यौपाने, उप महासचिव पारसमणि दाहाल, केन्द्रीय सचिवहरु शम्भु अधिकारी, प्रजापति नेगी, तत्तत् प्रदेशहरुका प्रदेश सचिवहरु, केन्द्रीय समितिका सदस्यहरुको सहभागिता रहेको छ । कञ्चनपुर, कैलाली र बाँकेका अध्यक्षहरु तथा कास्की जिल्लाका उपाध्यक्ष समेतको सहभागितामा शुरु भएको कार्यक्रम बिहिबारसम्म सञ्चालन हुने बताइएको छ ।
कञ्चनपुरको महेन्द्रनगर स्थित होटेल चेतन भगतपुरमा आयोजित एन–प्याब्सनको केन्द्रीय समितिको बैठक प्रारम्भ कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अधिवक्ता प्रकाश बहादुर पाण्डेयलाई नेपाल बार काउन्सिलको पार्षदमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुनु भएकोमा सम्मान पत्र प्रदान गरेको छ । साथै एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण भुसाल र रामप्रसाद पोख्रेलको दुःखद निधन भएको प्रति बैठकले श्रद्धाञ्जली समेत अर्पण गरेको छ । देशभरका करिब ४० प्रतिशत संस्थागत विद्यालयहरूको प्रतिनिधित्व रहेको संस्था एन–प्याब्सन केन्द्रीय समितिको बाह्रौं बैठकले संस्थागत विद्यालयहरूका समसामयिक समस्याहरुको पहिचान र समाधान, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, आउँदो वर्षमा हुने केन्द्रीय महाधिवेशनको मिति तथा स्थानको निर्धारण लगायतका विषयमा छलफल गर्ने कार्यतालिका समेत रहेको छ । त्यसलगत्तै यही चैत्र ७ गते कञ्चनपुरको जिल्ला अधिवेशन र यही चैत्र ८ गते कैलालीको जिल्ला अधिवेशन हुने बताइएको छ ।