हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ चैत्र । कञ्चनपुरको बेलौरीमा युवा तथा कृषकहरुका लागि आइपिएममा आधारित बेमौसमी तरकारी खेती सम्बन्धी तीन महिने तालिम सञ्चालन गरिएको छ । स्थानीय तहसँगको समन्वयमा युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले सञ्चालन गरेको बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप (दक्षता) परियोजना मार्फत बेलौरी नगरपालिका वडा नम्बर ३ मा उक्त तालिम सञ्चालन गरिएको हो । उक्त तालिममा बेलौरीका २० जना युवा तथा कृषक प्रशिक्षार्थीहरु रहेका छन् । बुधबार एक औपचारिक कार्यक्रमका बीच बेलौरी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा उक्त तालिमको उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले तालिमबाट सिकेको सीप र विषयवस्तुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । नगरपालिका सहित विभिन्न संघसंस्थाहरुले बारम्बार थुप्रै तालिम सञ्चालन गर्ने गरेको भएपनि निक्कै कम व्यक्तिहरुले मात्र तालिमको सदुपयोग गरेको उहाँको ठम्म्याइ छ । बेलौरी नगरपालिकाले कृषि, पशु र अन्य विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको नगर प्रमुख चौधरीले बताउनु भयो । स्वरोजगारका कार्यक्रमलाई प्रवर्द्धन गरी स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा योजना रहेकोले उत्पादन र उत्पादकत्वमा उहाँले जोड दिनुभयो ।
पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न किसिमका सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएका छन् । ती तालिममा सहभागी भएका व्यक्तिहरुले सीपको सदुपयोग गरेमा मात्रै पनि केही हदसम्म बेरोजगारी समस्या कम हुने र जीविकोपार्जनका लागि सहज हुने बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीको भनाइ छ । कोभिड १९ को महामारीका कारण अधिकांश युवाहरुले रोजगारी गुमाएको अवस्था छ । उक्त परिस्थितिलाई पनि सामान्य अवस्थामा ल्याउन व्यावसायिक कृषि पेशामा स्थानीय सरकारले समेत जोड दिएको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नेत्रराज गिरीले बताउनु भयो । रोग, भोक र अशिक्षा, विकृत्ति र विसंगतिले आक्रान्त बनेको अहिलेको समाजलाई गतिशील बनाई रुपान्तरण गर्ने अभियानमा लाग्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
निड्स नेपालले सञ्चालन गरेको तीन महिने तालिमबाट सिकेका विषयवस्तुहरुलाई दैनिक जीवनमा प्रयोग गर्न सके जीविकोपार्जनमा सहज हुने निड्स नेपालका सहसचिव दुर्गा खरेलको अपेक्षा रहेको छ । कृषकहरुलाई दक्ष बनाउने, स्वच्छ बाली हुर्काउने, रासायनिक विषादिको प्रयोग कम गर्ने, शत्रु जीव व्यवस्थापन र मित्र जीवको संरक्षण गर्ने पद्दतीमा आइपिएम तरकारी खेतीलाई प्रवर्धन गरिएको निड्स नेपालका मनराज उपाध्यायले बताउनु भयो । निड्स नेपालले सञ्चालन गरेको बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप (दक्षता) परियोजनाले अहिले कञ्चनपुर, कैलाली र बझाङ जिल्ला गरी सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दक्षता परियोजनाका संयोजक विनोद कडाराले जानकारी दिनुभएको छ ।
आइपिएम पद्दतीमा आधारित रहेर स्वच्छ बाली उत्पादनलाई बेलौरी नगरपालिका कृषि विकास शाखाले समेत प्राथमिकतामा राखेको बेलौरी नगरपालिका, कृषि विकास शाखाका प्रमुख सुमन राज जोशीको भनाइ छ । त्यस्तै, रोजगार सेवा केन्द्र बेलौरीमा सूचीकृत बेरोजगार युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सरोकारवाला पक्षसँग आवश्यक समन्वय र सहकार्य भइरहेको रोजगार संयोजक नरेश प्रसाद भट्टले बताउनु भयो । यहाँका कृषकहरुलाई व्यावसायिक बनाउन सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, किसान २ परियोजना लगायतका संघसंस्थाहरुले समेत सहयोग गरिरहेको पाइन्छ ।