हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ फागुन । कञ्चनपुर प्रहरीले ६ लाख २५ हजार बढी मूल्य बराबरका अवैध सर–समान बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारी गरी अटोमा ल्याइएका टिसर्ट, ट्रयाक, प्लाजु, कुर्ति, पछ्यौरी, जुत्ती, चप्पल, रुमाल २ पोका, कुर्ति सेट, कट्टु, धोती, बनारसी साडी गरी जम्मा रु ४ लाख ११ हजार १ सय ५० मूल्य बराबरका सर–समान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको महेन्द्रनगर बजारबाट कानुन बमोजिम बरामद गरेको हो ।
त्यस्तै, भन्सार छली पैठारी गरी ल्याइएका चिनी बोरा, आन्टी मिठो सुपारी, प्याज, पापड प्याकेट, पार्लेजी बिस्कुट, सुकेको खुर्सानी, डिउ ६०० मिलिलिटर, बेसन (मैदा), झुम्का सुर्ती र कालो झिल्ली प्लाष्टिक (हल्दी) २, हार्डवेयर समान समेत गरी रु. २ लाख १४ हजार २ सय ७२ मूल्य बराबरका सर–समान कञ्चनपुरको बेलडाडी गाउँपालिका वडा नम्बर ०३ बनपुरवा र बेलौरी नगरपालिका वडा नम्बर १० भुडा चौराहाबाट बरामद गरिएको छ ।
विभिन्न मितिमा बरामद गरिएका जम्मा रु. ६ लाख २५ हजार ४ सय २२ मूल्य बराबरका ती सबै सर–समानहरु, अटो र चालक सहितलाई शुक्रबार आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।