बिकाश सिंह महता, कञ्चनपुर, १२ फागुन । कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको मिति तय गरिएको छ । महेन्द्रनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै स्थानीय तड स्तरीय दोस्रो कञ्चनपुर क्रीकेट कप-२०७७ यहि फागुन २० गतेदेखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना गरिने कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्दले बताएका छन् ।
उनका अनुसार 'विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा खेलकुद क्षेत्र नै धरापमा परेको यो समयमा सबै स्थानीय तहहरुको सहयोगमा क्रीकेट प्रतियोगिताको आयोजना हुन लागेको र प्रतियोगितामा कञ्चनपुर जिल्लाका नौ पालिका मध्ये ७ वटा स्थानीय तहका टिमको सहभागिता रहने छ । लिग कम नकाउटको आधारमा दुई समुहमा विभाजन गरी प्रतियोगिता फागुन २० देखि २६ गतेसम्म संचालन हुने छ । जसमा यू-१९ उमेर समुहका ५ जना खेलाडी अनिवार्य रुपमा राख्नु पर्ने छ ।
जसले गर्दा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमका लागि यू-१९ खेलाडीलाई छनोट गरी टिम बनाउनमा ठूलो सहयोग पुग्ने देखिन्छ । सहभागीमा दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको टिम रहने छन् । समूह "ए" मा भीमदत्त, बेलौरी, शुक्लाफाटा र बेलडाँडी तथा समुह "बि" मा वेदकोट, दोधाराचाँदनी र कृष्णपुर नगपालिका रहने छन् ।
प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार रहेको छ । प्रतियोगितामा सहभागी हुने टिमका लागि कञ्चनपुर जिल्ला क्रीकेट संघले खेल पोशाक दिने र प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रदेखि लिएर पहिचान झल्काउने खालका फोटो समेत राखेको आयोजकले बताएको छ ।
जसले खेलकुद क्षेत्रलाई मात्र नभएर पर्यटन प्रबर्द्धनलाई समेत सहयोग पुग्ने छ । पत्रकार सम्मेलनमा कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्द, संघका कोषाध्यक्ष भुवन पन्त, सदस्य विशाल सोनार, पुर्व खेलाडी एवं संघकी सदस्य माया रावत साउँद, सदस्य एवं जिल्ला प्रशिक्षक बिरेन्द्र शाही र स्कोरर नरेन्द्र राज भट्ट लगायत खेलाडीको उपस्थिति रहेको थियो ।