मीरा श्रेष्ठ, कञ्चनपुर, १० फागुन । युरोपियन युनियनको आर्थिक सहयोग, डिसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं लिबर्डको प्राविधिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) ले कञ्चनपुरको बेलौरी नगरपालिकाका २ देखि ६ नम्बर वडा र लालझाडी गाउँपालिकाका सबै वडाहरुमा रहेका नागरिक समाज संस्थाको क्षमता विकासका लागि सोमबार एक दिने आवश्यकता पहिचान अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नागरिक समाज संस्थाको आन्तरिक क्षमताको विकास गर्दै तिनको माध्यमबाट स्थानीय पालिकालाई पारदर्शी तथा जवाफदेही बनाउन सघाउ पु¥याउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको परियोजनाका कार्यक्रम संयोजक विनोद विक्रम जैरुले बताउनु भयो । जलवायु लचिलो कृषि प्रविधि, विपद् व्यवस्थापन तथा सुशासनलाई मध्यनजर गर्दै नागरिक समाज संस्थाको क्षमता तथा नेतृत्व विकासको लक्ष्य राखी सन् २०२० देखि उक्त परियोजना सञ्चालनमा रहेको छ ।
“परियोजनाका विषयगत क्षेत्रसँग सम्बन्धित बेलौरी नगरपालिकाका २ देखि ६ नम्बर वडा तथा लालझाडी गाउँपालिकाका सम्पूर्ण वडामा कार्यरत नागरिक समाज संस्थाको सूची संकलन गरी ४० ओटा नागरिक समाज संस्था छनौट गरिएको र तिनै ४० ओटा नागरिक समाज संस्थासँग नजिक रहेर उनीहरुको क्षमता विकास गर्दै स्थानीय तहमा सुशासनका निमित्त पैरवीको अभ्यास गराउने उद्देश्य हो”, भन्नु हुन्छ, कार्यक्रम संयोजक विनोद विक्रम जैरु । कार्यक्रममा परियोजनाले ती नागरिक समाज संस्थाको क्षमता विश्लेषण गरेको र विषयगत क्षेत्र लगायत कानुनी प्रावधान, वित्तिय दीगोपना, व्यवस्थापन प्रणाली जस्ता विषयमा तिनको स्तरीकरणको नतिजा कस्तो रहेको थियो त भनि पुनरावृत्ति गरी सोही आधारमा उनीहरुको सबल पक्षलाई थप परिष्कृत कसरी गर्ने र सुधार गर्नुपर्ने पक्षमा परियोजनाको तर्फबाट के–कस्ता प्राविधिक तथा विषयगत सहयोग चाहिन्छ त भनी छलफल भएको थियो ।
फलस्वरुप ति नागरिक समाज संस्थाले आफ्नो क्षमता तथा नेतृत्व विकासका लागि संस्था दर्ता, विधान लेखन, नेतृत्व विकास, प्रस्तावना लेखन, लैङ्गिक समानता तथा जलवायु परिवर्तन, सुचनाको हक, व्यवस्थापन प्रतिवेदन तयार, रणनीतिक योजना निर्माण, पैरवी, सीप, दीगो कृषि विकास, सामाजिक जवाफदेहिता, मुल्यांकन तथा अनुगमन बिउबिजन, विपद् व्यवस्थापन, लेखा व्यवस्थापन, कृषि उत्पादन ग्रेडिङ बजारीकरण, सुशासन, अपाङ्गताको सशक्तीकरण, प्राथमिक स्वास्थ्य सेवा, पशुजन्य दाना उत्पादन तथा पौष्टिक आहार जस्ता विविध विषयमा तालिम तथा अभिमुखीकरण कार्यक्रमको माग राखेका थिए । नेपाल राष्ट्रिय समाज कल्याण संघ विगत ७ वर्षदेखि बेलौरी नगरपालिका तथा लालझाडी गाउँपालिकामा कृषिमा आधुनिकीकरण र बजारीकरणका निमित्त सक्रिय रुपमा कार्यरत संस्थाको रुपमा चिनिन्छ । कोभिड–१९ को महामारीमा पनि मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वलाई बहन गर्दै संस्थाले दुवै पालिकालाई स्वास्थ्य तथा खाद्यान्न सामग्री सहयोग गरेको बताइएको छ ।