हरिश्चन्द्र बाग, कञ्चनपुर, १० फागुन । “आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपालीको आधार“ भन्ने मूल नारा सहित सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको वेदकोटमा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । त्यसक्रममा उहाँले औद्योगिक क्षेत्रमा विशेष प्याकेज सहित उद्योग कलकारखाना स्थापना हुने उल्लेख गर्नुभयो । उहाँले ग्रामीण औद्योगिक क्षेत्र देखि ठूलठूला उद्योग धन्दा सञ्चालन गर्न सरकार तल्लीन रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको दार्चुला स्थित गुमेको भूमि फिर्ता ल्याउने दाबी समेत गर्नुभएको छ । तुइन विस्थापित गरी सकभर पक्की पुल, नभए झोलुङ्गे पुल भएपनि निर्माण गरिने उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राचीन इतिहासको साक्षी सुदूरपश्चिमको विकासका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । भूमिहीन, सुकुम्बासी, आरक्षपीडित र मुक्तकमैया, मुक्त हलिया जस्ता अव्यवस्थित बसोवासीहरूको उचित व्यवस्थापनका लागि सरकारले काम शुरू गरिसकेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
नेपालको हकमा दुई वर्षमै निक्कै चमत्कार भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । अब नेपालमा कहिल्यै पनि लोडसेडिङ नहुने दाबी गर्नुहुँदै अबको दुई वर्षपछि नेपालले उत्पादन गरेको विद्युत् विदेशी मुलुकलाई बिक्री गर्ने योजना रहेको बताउनुभयो । उहाँले पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रको गौरवको योजनाका रूपमा स्थापित गरिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले केही दिन भित्रै प्रतिनिधि सभा विगठन सम्बन्धी फैसला आउने उल्लेख गर्नुहुँदै विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दा देश आन्दोलनमा जान्छ भन्दा प्रधानमन्त्रीले आन्दोलन गर्छु भन्यो भन्ने गलत व्याख्या गरिएको बताउनु भयो ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ र ३ मा बन्ने दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले साना, मझौला र ठूला उद्योग निर्माणका लागि जम्मा ९ सय विघा क्षेत्रफल ओगट्ने दैजी छेला औद्योगिक क्षेत्रमा तत्काल ३ सय ५० विघा जमिनमा काम शुरु गरिने बताउनु भयो । कार्यक्रममा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी, बन तथा वातावरण मन्त्री प्रेम बहादुर आले लगायतका विशिष्ट व्यक्तिहरुले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।