चक्र कुँवर, डोटी । नेपाल प्रेस युनियन डोटी शाखाले आफ्नो २८ औँ स्थापना दिवसका अवसरमा बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार बिहान युनियनले डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्य पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत ९ जना फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।
फरक क्षमता भएका विद्यार्थीहरुको शैक्षिक स्तरमा सहयोग पुगोस् भन्दै युनियनले उनीहरुलाई शैक्षिक सामग्री वितरण गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिनुभयो । यस्ता फरक क्षमता भएका बालबालिकाका लागि तीनै तहका सरकारले नीतिगत व्यवस्थामा जोड दिनुपर्ने अध्यक्ष बमको धारणा छ ।
बालबालिकाहरुलाई ज्यामिति बक्स, कापी, कलम, सिसाकलम लगायतका सामग्री प्रदान गरिएको अध्यक्ष बमले वताउनु भयो । विगतका दिनहरुमा अन्तक्रिया, ¥याली, सभा सम्मेलन गर्दै दिवस मनाउदै आएको भएपनि यस वर्ष आफुहरुले फरक तरिकाबाट दिवस मनाएको प्रेस युनियन डोटीले जनाएको छ ।
प्रेस युनियनले स्थापना दिवसमा फरक क्षमता भएका बालबालिकालाई यसरी शैक्षिक सामग्री वितरण गरेकोमा पद्य पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक हिक्मत शाहीले धन्यवाद दिनुभएको छ । शैक्षिक साम्रगी पाउँदा विद्यार्थीहरु पनि खुशी भएका छन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य रामहरी ओझा, नेपाल पत्रकार महासंघ डोटी शाखाका संस्थापक अध्यक्ष शंकर थापा, पे्रस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली, प्रेस सेन्टर नेपालका कार्यबाहक अध्यक्ष कर्ण चन्द लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।