कञ्चनपुर, ०३ फागुन । कञ्चनपुरमा समेत आइतबारदेखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले दोस्रो चरणको पहिलो खोप लगाउनु भयो । यसपछि नेपाल प्रहरीका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐर, पत्रकार महासंघका अध्यक्ष विष्णु दत्त अवस्थी लगायतले खोप लगाई दोस्रो चरणको अभियान शुरूवात गरिएको हो ।
दोस्रो चरणमा जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरु, पहिला छुट भएका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयं सेवक, एम्बुलेन्स तथा शव वाहन चालकहरुले खोप लगाउने छन् । ती लाभग्राहीहरुले खोप लगाउन आउँदा परिचयपत्र साथमा ल्याउनु पर्ने बताइएको छ ।
यो खोप अभियान फागुन २ देखि ८ गतेसम्म जम्मा १ हप्ता सञ्चालन हुने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभएको छ । फागुन ४ गतेसम्म खोप केन्द्र महाकाली अस्पतालमा र त्यसपछि जिल्लाका अन्य विभिन्न क्षेत्रमा खोप केन्द्र स्थापना गरिने बताइएको छ ।

यसैबीच, कञ्चनपुरको बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा यही फागुन ४ गतेका दिन बेलौरी र बेलडाँडी तथा ५ गतेका दिन पुनर्वास र लालझाडीका प्राथमिकतामा परेका व्यक्तिहरूलाई खोप लगाइने बेलौरी नगरपालिकाले जनाएको छ । उक्त कार्यमा सहजताका लागि बेलौरी नगरपालिकाले एक सूचना जारी गर्दै सम्बन्धित सबैलाई जानकारी समेत गराएको छ ।
