हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ फागुन । कञ्चनपुरको लालझाडी गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरी छनौट गरेका लगत संकलनकर्ताहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकहरुको लगत संकलनका लागि आवश्यक प्रक्रिया, नीति र नियम लगायतका विषयमा लगत संकलनकर्ताहरुलाई जानकारी दिने उद्देश्यले शनिबार एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश संयोजक अगस्त्य राज अधिकारीले अधिकार सम्पन्न आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकहरुको उचित व्यवस्थापन गर्ने बताउनु भयो ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले लालझाडी सहित विभिन्न क्षेत्रमा देखिएको भूमि सम्बन्धी समस्या सधैँका लागि समाधान हुने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले जुनसुकै हालतमा पनि जनतालाई भूमिमा अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा आयोगका कञ्चनपुर विज्ञ सदस्य रमेश भट्ट सहित स्थानीय जनप्रतिनिधिहरु र सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो । कञ्चनपुरका विभिन्न स्थानीय तहहरुमा लगत संकलनको कार्य सञ्चालन गरिएको छ भने बाँकी स्थानीय तहहरुमा समेत लगत्तै अभिमुखीकरण कार्यक्रम गरी द्रुत गतिमा कार्य अगाडि बढाइने भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले जनाएको छ ।
यसैबीच, शनिबार नै भूमि सम्बन्धी समस्या समाधान आयोग, राष्ट्रिय आवास कम्पनी र स्थानीय जनप्रतिनिधिहरुबीच व्यापक छलफल भएको छ । उक्त छलफलका क्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय बिज्ञ सदस्य जगत बहादुर देउजा, केन्द्रीय सदस्य भिम कार्की, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक अगस्त्य राज अधिकारी, राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक नारायण बास्तोला, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाड, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा, उपप्रमुख शारदा शर्मा बिष्ट सहितका जनप्रतिनिधि, सुकुम्बासी संघर्ष समितिका संयोजक सहितका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले जानकारी दिनुभयो । उक्त छलफल फलदायी भएको र छिट्टै राष्ट्रिय आवास कम्पनीसँग सम्बन्धित भूमिको समस्या समेत समाधानको प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनु भयो ।

