कञ्चनपुर, ३० माघ । जिल्ला अदालत बार एशोसिएशन कञ्चनपुरको स्थापना दिवस तथा १८ औँ वार्षिक साधारण सभा विविध विषयमा छलफल गरी सम्पन्न भएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश तेज बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा बारका अध्यक्ष अधिवक्ता देवराज पन्तको अध्यक्षतामा शुक्रबार कार्यक्रम गरिएको हो । प्रमुख अतिथी न्यायाधीस तेज बहादुर कार्कीबाट पानसमा दीप प्रज्ज्वलन गरेर ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा बारका उपाध्यक्ष गणेश बोहराले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बारका सचिव नरेन्द्र बहादुर सिंहले गर्नुभएको थियो । कार्यक्रमका सरोकारवालाहरुबीच कानुन तथा विधिको शासन कायम गर्नमा कानुन व्यवसायीहरुको ठूलो भुमिका रहने र त्यसमा पनि बार र बेन्च एक रथका दुई पांग्रा भएको हुनाले न्याय प्रदान गर्नमा दुबै संस्थाको अहम् भुमिका रहने, त्यसमा पनि वकिल र न्यायाधीशको न्याय दिन र दिलाउनमा व्यक्तिगत जिम्मेवारी र दायित्वको स्थान पनि महत्वपुर्ण रहने कुरामा छलफल भएको छ । बारले वर्षभरी गरेको प्रगति प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका विषयहरुमा बन्द सत्रमा छलफल गरी रायसुझाव सहित पारित गरिएको बताइएको छ ।
वरिष्ठ अधिवक्ताहरु नारायण प्रसाद खत्री, पुर्ण बहादुर चन्द र भोजराज जोशीलाई दोसल्ला ओडाएर सम्मान पत्रका साथ सम्मान प्रदान गरिएको बताइएको छ । जिल्ला बारको भवन निर्माणकार्यमा बारलाई सहयोग गरेको भन्दै भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकालाई र नगर प्रमुख क्रमशः सुरेन्द्र बिष्ट, अशोक कुमार चन्द र कर्ण बहादुर हमाल गरी तिनै जनालाई समेत सम्मान प्रदान गरिएको छ । जिल्ला अदालत परिसर भित्र निर्माण हुन लागेको क्यान्टिनका लागि समेत भीमदत्त नगरपालिकाले रु. ५ लाख बिनियोजन गरेको र सो निर्माणका लागि करीब १२ लाख खर्च हुन सक्ने अनुमान गरिएकोले निर्माण समितिका अध्यक्ष नेपाल बार काउन्सिलका केन्द्रीय पार्षद अधिवक्ता प्रकाश बहादुर पाण्डेयले सहयोगी हातहरुको ठूलो आशा र भरौसा रहेको बताउनु भयो । उहाँले निकट भविष्यमै नमुना क्यान्टिन निर्माण हुने विश्वास व्यक्त गर्दै बारको भवन निर्माण गर्नमा र क्यान्टिन निर्माणका लागि सहयोग पुर्याएकोमा तीन वटै नगरपालिका प्रति आभार व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिमा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय कृष्णलाल भट्टराई र राकेश कुमार निधि, वरिष्ठ अधिवक्ता नारायण प्रसाद खत्री, वरिष्ठ अधिवक्ता पुर्ण बहादुर चन्द, वरिष्ठ अधिवक्ता भोजराज जोशी, कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेय, नेपाल बार काउन्सिलका पार्षद अधिवक्ता प्रकाश बहादुर पाण्डेय, नेपाल बार एसोसिएशनका उपाध्यक्ष अधिवक्ता उमेश बिष्ट, नेपाल बारका पुर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता हिक्मत सिंह भण्डारी, उच्च सरकारी वकिल कार्यालयका प्रमुख चिरञ्जीवी पराजुली, उच्च बारका अध्यक्ष अधिवक्ता उद्दव राज भट्ट, उच्च बारका निवर्तमान अध्यक्ष अधिवक्ता भुपेन्द्र बिस्ट, अधिवक्ता शिव राज पाण्डेय, उच्च अदालत महेन्द्रनगरका रजिष्ट्रार नरेन्द्र बुढा, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला सहन्यायधिवक्ता विष्णु गौली, बेदकोट नगरपालिकाका उपप्रमुख शुशिला सिंह, भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत हरि सिंह धामी, जिल्ला बारका निवर्तमान अध्यक्ष लगायत बारका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।