हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ माघ । कञ्चनपुर जिल्लालाई कृषि हबको रुपमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बेलौरी नगरपालिकाको संयोजनमा कृषि ज्ञान केन्द्र कञ्चनपुरले शुक्रबार बेलौरीमा आयोजना गरेको जिल्ला भित्रका स्थानीय तहका कृषि प्राविधिक तथा सरोकारवालाहरुसंगको समन्वय बैठकमा बोल्ने अधिकांश वक्ताहरुले कञ्चनपुरलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्ने बताएका हुन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई सहुलियत व्याजदरमा ऋण, भन्सार शुल्क छुट, विद्युत् महशुलमा छुट, कृषि बिमा शुल्कमा अनुदान लगायतका नयाँ कार्यविधि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पारित गरेको र सो को कार्यान्वयन गर्न कृषि ज्ञान केन्द्र तयार रहेको उल्लेख गरेका छन् । उनले क्षेत्रगत रुपमा कृषकहरुले सामुहिक खेती प्रणाली अवलम्बन गर्नुसके अझ बढी लाभ लिन सकिने बताएका छन् ।
प्रत्येक स्थानीय तहमा हरेक महिनामा घुम्ती स्थलगत अन्तरक्रिया कार्यक्रम गर्ने र कृषि विकासका लागि वर्तमान समयमा देखिएका समस्या, आगामी योजना तथा कृषि विकासका समसामयिक विषयबस्तु एवं आपसी समन्वय, सहकार्य र सहअस्तित्व गर्ने भन्ने यही असोज २६ गते भएको निर्णय बमोजिम बेलौरीबाट कार्यक्रम शुरु गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यसपछिको अर्को नियमित बैठक पुनर्वास नगरपालिकामा गर्ने भन्ने समेत सोही बैठकले निर्धारण गरेको छ ।
उक्त समन्वय बैठकमा कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, आर्थिक विकास शाखा संयोजक नेत्रराज गिरी लगायत जनप्रतिनिधि, विभिन्न स्थानीय तहमा कार्यरत कृषि शाखा प्रमुख एवं प्रतिनिधिहरु, कृषिसंग संम्बन्धित सरकारी फर्म, तालिम केन्द्र, प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिहरु, गैरसरकारी संस्था किसान परियोजना २, निड्स नेपाल , एनएनएसडब्लुए, कारितास नेपालका प्रतिनिधि, खाद्य अधिकार मञ्चका प्रतिनिधि लगायत कृषक समूह र सहकारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।