बिकास सिंह महता, कञ्चनपुर, २१ माघ । कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ को उपाधि आयोजक महेन्द्रनगर युनाइटेड निलोले हात पारेको छ । महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीयाका बीच बुधबार भएको फाइनल प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ३६ औँ मिनेटमा डिबक्स भित्र पिएफएको डिफेन्सद्वारा गरिएको फललाई महेन्द्रनगर युनाइटेडले पाएको पेनाल्टीमा युनाइटेडका टिम क्याप्टेन जर्सी नम्बर १४ का टेकेन्द्र थापाले आफ्नो टिमको लागि एक गोल गर्दै अग्रता दिलाएका थिए ।
अग्रतालाई टिकाउन नसक्दा दोस्रो हाफको ७१ औँ मिनेटमा पिएफए अत्तरीयाका जर्सी नम्बर ३ का सन्तोष कार्कीले आफ्नो टिमको लागि गोल गर्दै १।१ को बराबरीमा पुगाएका थिए । निर्धारित समयमा १।१ को बराबरी हुँदै इन्जुरी समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरी संगै ट्राइबेगरमा पुगेको हो । ट्राइबेगरमा पनि ४।४ को बराबरी संगै सडनदेथमा महेन्द्रनगर युनाइटेड निलोले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता बनेको टिमले नगद एक लाख, ट्रफी प्रमाणपत्र र मेडल हात पारेको छ भने उपविजेता टिम पिएफए अत्तरीयाले नगर ५० हजार, ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु पर्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, रक्षक र उत्कृष्ट गोलकर्ता क्रमशः आकाश बुढा, किरन रावत र टेकेन्द्र थापा घोषित भएका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र बेष्ट इमेजिङ खेलाडी महेन्द्रनगर युनाइटेडका सुनिल धामी र कुशल देउबा घोषित भएसंगै प्रतियोगिताको उत्कृष्ट मध्यपंक्तिका खेलाडी पिएफए अत्तरीयाका कृष्ण तामाङले उपाधि हात पारेका छन् । फाइनल खेलमा म्यान अफ द म्याचको पुरस्कारका लागि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले नगद पाँच हजार घोषणा गरेका थिए । जसमा महेन्द्रनगर युनाइटेड निलोका गोलरक्षक आकाश बुढाले उक्त पुरस्कार हात पारेका छन् । खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न क्लबहरुको प्रतिनिधित्व रहेको थियो ।
यस क्षेत्रकै सर्वाधिक धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप २०७७ को समापन कार्यक्रममा सभापति महेन्द्रनगर युनाइटेड क्लबका अध्यक्ष राजेश चन्द, प्रमुख अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, विशिष्ट अतिथिमा ओलम्पियन तथा बोक्सिङ प्रशिक्षक डम्बर दत्त भट्ट, समाजसेवी कञ्चनपुर हेण्डबल संघका निवर्तमान अध्यक्ष एवं समाजसेवी खगेश्वर के.सि, नेपाल बेडमेन्टिन संघका केन्द्रीय उपाध्यक्ष गोबिन्द स्वार, अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव भीमबहादुर थापा र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द सहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नवीन धामीले गरेका थिए । ।प्रतियोगितामा कञ्चनपुर र कैलाली जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । खेल नकाउट आधारमा खेलाइएको प्रतियोगिताका संयोजक महेन्द्र चन्दको भनाइ छ ।