हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ७ हल्दुखाल घर भई हाल अमेरिकामा बस्दै आएका सुरेश लुहारले अभिभावकत्व ग्रहण गरेका छन् । उनले कञ्चनपुरकै पुनर्वास नगरपालिका वडा नं. २ स्थित शिविरमा बस्ने बालिका भोवनी सार्कीको अभिभावकत्व ग्रहण गरेका हुन् । गरीब तथा विपिन्न परिवारकी बालिका भोवनीको कक्षा १० सम्मको सम्पूर्ण पढाइ खर्च बेहोर्ने गरी अभिभाकत्व ग्रहण गरेका सुरेशले पुनर्वास नगरपालिका वडा नं. १ बीर बलभद्रबस्तीमा रहेको श्री ब्रिलेन्ट स्टार इंग्लिस स्कुलमा भर्ना गरेका छन् ।
श्री ब्रिलेन्ट स्टार इंग्लिस स्कुल पुनर्वासको आयोजना तथा दलित अधिकार मञ्च बेलौरीको समन्वयमा आइतबार आयोजित अभिभावकत्व ग्रहण कार्यक्रममा आफ्नो विगतको अवस्थालाई स्मरण गर्दै सुरेश लुहारले घरको आर्थिक अवस्था कमजोर भई केही समय पढाई नै रोक्नु परेको पीडा आफु संग रहेकोले त्यस्तै अवस्थामा रहेका केही बालबालिकालाई सहयोग गर्नुपर्छ भन्ने आफ्नो मनसाय रहेको बताए ।
हाल आफु धेरैको सपनाको देश मानिने ठाउँ अमेरिकामा रहेर पनि विपन्न परिवारको दुःख र संघर्षलाई सम्झिरहने हुँदा आफुले सक्दो सहयोग गरे केही बालबालिकाको जीवनमा परिवर्तन ल्याउन सकिनेमा विश्वस्त रहेको उनले सुनाए । कार्यक्रममा उनले आफ्ना केही अनुभवहरु सुनाउँदै बालबालिकाहरुलाई ठूलो मान्छे बन्ने भन्दा असल मान्छे बन्ने लक्ष्य लिनुपर्ने बताए । अहिले आफु एक्लै एकजना बालिकाको अभिभावकको रुपमा उभिए पनि आगामी दिनमा अमेरिकामा रहेका नेपालीहरुसंग समन्वय गरी अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उनले व्यक्त गरेका छन् ।
आमा धरु सार्की र बुवा केशे सार्कीकी ९ वर्षिया छोरी भोवनी सार्की परिवारमा सातौँ नम्बर की छोरी हुन् । लगातार छोरी नै छोरी जन्मिएपछि छोरा पाउँने आसमा सात छोरीलाई जन्म दिएको र आठौँ सन्तानको रुपमा छोरा जन्मिएको आमा धरु सार्कीले सुनाइन् । कान्छो छोरालाई दुध चुसाउँदै गर्दा उनले भनिन् “आठ सन्तान छन्, कसरी पूरो गर्नु ? घरजग्गा छैन, पुनर्वास कम्पनीमा पर्ने सुकुम्बासी बस्तीमा टहरा बनाएर बसेका छौँ । श्रीमानले भारतमा गई मजदुरी गर्ने गरेको र हाल घर फर्किएका बेला पनि यहीँ मजदुरी गर्ने गरेका छन् । बिहान खाए साँझ के खाउँ हुन्छ । कहिलेकाँही केटाकेटीले बजारमा पाइने खानेकुरा खान इच्छा गर्छन्, उनीहरुको इच्छा पूरा गर्नै सकिदैन ।”
यसैबीच, श्री ब्रिलेन्ट स्टार इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल आर.पी. सार्कीले ती बालिकालाई कक्षा १० सम्म निःशुल्क अध्यापनको व्यवस्थापन मिलाउने प्रतिबद्दता जनाएका छन् । यसअघि पनि ब्रिलेन्ट स्टार इंग्लिस स्कुलमा द्वन्द्व पीडित, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका र अति विपन्न अभिभावकका गरिब, जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई समेत निःशुल्क अध्यापन गराउँदै आएको उनले सुनाए । उनले सुरेश लुहारको सह्रानीय कार्यको कदर गर्दै आफुलाई समेत थप उर्जा मिलेको बताएका छन् ।
पुनर्वास नगरपालिका वडा नं. २ का वडाध्यक्ष सन्त कुमार चौधरीले गरिब तथा विपन्न परिवारकी बालिकाको अभिभावक बनेर सुरेश लुहारले धेरै ठूलो काम गरेको बताउँदै आगामी दिनमा संगठनमा आवद्द भई सामुहिक रुपमा सामाजिक कार्य गर्न सुझाव दिएका छन् । वडा तथा नगरपालिकाबाट पनि गरिब, विपन्न र जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने उनले प्रतिबद्दता जनाएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रवक्ता समेत रहनु भएका दलित अधिकार मञ्च बेलौरी, कञ्चनपुरका अध्यक्ष विनोद नेपालीले सदरमुकाम देखि टाढा रहेको पुनर्वासमा अतिविपन्न परिवारकी वालिकालाई छनौट गरी अभिभावकत्व ग्रहण गरेकोमा सुरेश लुहार प्रति सादुवाद प्रकट गरे । अमेरिका जस्तो सम्पन्न देशमा पुगेर पनि गरिब तथा अतिविपन्न बालबालिकाको उत्थानका लागि सोच्ने सुरेश लुहारबाट अन्य व्यक्तिहरुले पनि प्रेरणा पाउने विश्वास लिएका छन् । त्यस्तै, ब्रिलेन्ट स्टार इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल आर.पी. सार्कीले ती बालिकालाई कक्षा १० सम्म निःशुल्क अध्यापनको व्यवस्थापन मिलाउने प्रतिबद्दता जनाएको प्रति उनले खुसी व्यक्त गरेका छन् । दलित अधिकार मञ्चले पनि आगामी दिनमा यस्तै कार्यहरुमा सहकार्य गर्ने बताएका छन् ।