हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निड्स नेपालले बजार उन्मुख प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षणलाई स्थानीय योजना बनाउने प्रक्रियामा एकीकृत गर्नका लागि स्थानीय सरकार र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालले शुक्रबार भीमदत्त नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रोजगार सूचना केन्द्र र रोजगार संवाद मञ्च सञ्चालनका सन्दर्भमा छलफल भएको हो ।
पहिलो चरणमा रोजगार सूचना केन्द्र र रोजगार संवाद मञ्च सञ्चालनका लागि भीमदत्त नगरपालिकासंग सहकार्यको प्रस्ताव गरेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत रोजगार खोजिरहेका बेरोजगार जनशक्ति र रोजगारदाताहरुबीच समन्वय गर्न रोजगार संवाद मञ्चको परिकल्पना गरेको र सोही परिकल्पनालाई निड्स नेपाल अन्तर्गतको दक्षता परियोजनाले कार्यान्वयनमा सहयोगी भूमिका खेल्ने उद्देश्यले भीमदत्त नगरपालिकासमक्ष प्रस्ताव गरेको उहाँले उल्लेख गर्नुभयो ।
भीमदत्त नगरपालिका र निड्स नेपालको साझेदारीमा रोजगार सूचना केन्द्र र रोजगार संवाद मञ्च सञ्चालनका लागि नगरपालिका सकारात्मक रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो । दक्ष जनशक्तिको तथ्यांक संकलन गरी श्रम बजारमा सहज ढंगले पहुँच पुर्याउने र आवश्यकता अनुसार समन्वय र छलफल गरी रोजगारदाताहरुलाई श्रमिक उपलब्ध गराउने उद्देश्यले उक्त कार्यका लागि निड्स नेपालसंग साझेदारी भइरहेको नगर प्रमुख बिष्टको भनाइ छ ।
दक्ष जनशक्तिको अभावमा विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्दै सिटिईभिटी सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक डा. कुष्माकर भट्टले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो । स्थानीय स्तरमै दक्ष जनशक्ति तयार गरी रोजगारीका अवसर दिनसकेमा सम्बन्धित व्यक्तिको पारिवारिक विकाससंगै समाज विकासमा समेत योगदान पुगी गरिबी निवारण गर्न सकिने उहाँको भनाइ छ । दक्ष जनशक्ति उत्पादनमा सिटिईभिटीले समेत महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गर्ने निर्देशक भट्टले बताउनु भयो ।
कार्यक्रममा सहभागी भीमदत्त नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले स्थानीय स्तरमा आवश्यक जनशक्ति तयार गर्न स्थानीय सरकार र सरोकारवाला निकायले सहकार्य गरी आवश्यकता पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन र सिटिईभिटीको प्राविधिक सहयोगमा निड्स नेपाल अन्तर्गतको दक्षता परियोजनाले कञ्चनपुर, कैलाली र बझाङ जिल्ला गरी सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दक्षता परियोजनाका संयोजक विनोद कडाराले जानकारी दिनुभयो ।