हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ माघ । कञ्चनपुर जिल्लामा समेत कोभिड विरुद्धको खोप सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा सोमबार बसेको जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको बैठकले कञ्चनपुर जिल्लामा कोभिड विरुद्धको खोप प्राप्त भएपछि खोपको भण्डारण र आवश्यक सुरक्षा प्रबन्ध स्वास्थ्य कार्यालय र महाकाली अस्पतालले समन्वय गरी गर्ने निर्णय गरेको छ । प्रथम चरणमा महाकाली अस्पतालमा कोभिड खोप केन्द्र स्थापना गरी यही माघ १४ गते बुधबारदेखि कोभिड खोप सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणमा खोप सेवा सञ्चालनको लागि महाकाली अस्पतालमा तीन जना खोप प्रदान गर्ने स्वास्थ्यकर्मी, २ जना सरसफाइकर्मी र एक जना चिकित्सकलाई मंगलबारभित्र अभिमुखीकरण गरी तयारी अवस्थामा राखिने छ ।
स्वास्थ्य कार्यालयले कोभिड विरुद्धको खोपको कार्ययोजना बनाई जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिमा स्वीकृतिको लागि पेश गर्ने, खोप पश्चात हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि महाकाली अस्पतालमा एईएफआई किट सहित चिकित्सकको एक टोली तयारी अवस्थामा राख्ने निर्णय भएको छ । पहिलो चरणमा प्रचलित ऐन कानून बमोजिम सूचीकृत भएका एवं सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुलाई खोप लगाइने भएको छ ।
उल्लिखित व्यक्तिहरुको विवरण तोकिएको ढाँचामा ईन्फर्मेशन मेनेजमेन्ट युनिटमा सम्बन्धित निकायहरुले अद्यावधिक गर्ने कार्य यथाशीघ्र सम्पन्न गर्ने र आईएफयु अद्यावधिक गरी खोप कार्ड प्राप्त गरेकाहरुलाई मात्र खोप लगाउन पाइने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनुभयो । बैठकमा सदस्यहरु जिल्ला समन्वय अधिकारी हरिदत्त भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी नायव उपरीक्षक गंगादत्त पन्त, सहसेनानी अभय कुमार खड्का, महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार, सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी, उपअनुसन्धान निर्देशक कमल प्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।