हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानमा बस्ने गरीब तथा विपन्न बस्तीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई तीस हजार पौष्टिक खाना वितरण गरिएको छ । कोभिड १९ का कारण गरिएको बन्दाबन्दी र त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न कठिनाई भोगिरहेका बस्तीमा माइती नेपाल कञ्चनपुरले दुई चरणमा सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियान सञ्चालन गरेको थियो ।
कञ्चनपुरका विभिन्न स्थानीय तहहरुसँगको सहकार्य तथा युएन वुमन नामक सस्थाको सहयोगमा माइती नेपाल कञ्चनपुरले दुई चरणमा सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियान सञ्चालन गरेको थियो । उक्त अभियान अन्तर्गत असार देखि भदौसम्म पहिलो चरणमा ५६ दिन सञ्चालन गरिएको अभियानमा १५ हजार र मंसिरदेखि माघ १० गतेसम्म दोस्रो चरणमा ६० दिन सञ्चालन गरिएको अभियानमा समेत १५ हजार गरी जम्मा ३० हजार भन्दाबढी पौष्टिक खाना वितरण गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनु भयो ।
सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियान अन्तर्गत दैनिक ज्याला मजदुरी गरी खाने अति गरीब, दलित, जनजाती, सिमान्तकृत वर्गका महिला तथा बालबालिकालाई पौष्टिक खाना, नवजात शिशुलाई सर्वाेत्तम पिठो, महिला तथा किशारीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री तथा लक्षित समुदायमा कोरोना भाइरस, लैङ्गिक हिंसा तथा मानव बेचबिखन विरुद्धको सचेतना सामग्री समेटिएका पर्चा पम्प्लेट समेत वितरण गरिएको छ । कोरोना महामारीको प्रभावलाई केन्द्रित गरेर माइती नेपालले सञ्चालन गरेको उक्त अभियान गरीब तथा विपन्न परिवारका लागि सहारा बनेको लाभान्वित समुदायको कथन छ ।
कोरोना महामारीका कारण लामो समयसम्म गरिएको बन्दाबन्दीसँगै ज्याला मजदुरी समेत गुमाएका गरीब घरपरिवारको दैनिकी निक्कै कष्टकर बनेको छ । प्रायः जसो जंगल आसपासको क्षेत्रका शिविरमा बस्ने आरक्षपीडित, भूमिहिन तथा सुकुम्बासी नागरिकहरु बन्यजन्तुको डरले थप त्रसित बन्ने गरेका छन् । मानव बेचबिखन रोकथामका लागि सीमा क्षेत्रमा खटिएर निरन्तर निगरानी गर्दै आएको माइती नेपाल कञ्चनपुरले कोरोना महामारीको समयमा सञ्चालन गरेको सामाजिक अभियान प्रशंसनीय छ ।