हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ पुस । कृषि ज्ञान केन्द्र कञ्चनपुरले व्यावसायिक उखु खेतीलाई थप प्रवर्द्धन गर्ने जनाएको छ । मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम लागु भएका क्षेत्रमा उखु खेतीलाई सुधार गर्दै अन्य स्थानमा समेत क्षेत्र विस्तार गर्ने योजना रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले बताउनु भएको छ । उखु खेतीबाट यहाँका किसानहरुको आर्थिक अवस्थामा गुणात्मक सुधार भएको बताउँदै उहाँले सरकारी अनुदान तथा लगानी, आधुनिक कृषिऔजार र खेती प्रणालीको प्रयोग एवं यहाँका उद्योगहरुको सहयोगका कारण समेत कञ्चनपुरका किसानहरु उखु खेती तर्फ आकर्षित भएको उल्लेख गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम मार्फत उखु खेतीका लागि अनुदानमा बीउबिजन, मलखाद तथा यन्त्र उपकरण दिन थालेपछि यहाँका किसानहरु व्यावसायिक रुपमा उखु खेती तर्फ आकर्षित भएका हुन् । गत वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलडाँडीमा उखु खेती प्रवर्द्धन गरिएको छ । परम्परागत खेती भन्दा नगदे बालीको रुपमा रहेको उखु खेतीबाट राम्रो आम्दानी हुने र त्यसैमा मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम मार्फत सिँचाईँ सुविधा देखि यन्त्र उपकरणहरु पाएकोले उखु खेतीका लागि निक्कै सहज भएको उखु किसानहरुको भनाइ छ ।
मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) समन्वय समिति बेलडाँडीले उखु किसानलाई उखु खेतीका लागि चाहिने मलखाद, बिउबिजन, यन्त्र उपकरण तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको समन्वय समिति बेलडाँडीका अध्यक्ष सुरेन्द्र सिंहले बताउनु भयो । बेलडाँडी गाउँपालिका भित्र वडा नम्बर १, ३ र ४ मा गतवर्ष देखि लागु भएको मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम अन्तर्गत यहाँका केही किसानले अन्तरबाली समेत लगाएका छन् । नजिकै रहेको महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीले उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव हुन नदिन किसानलाई प्राविधिक रुपमा सहयोग गर्दै आएको छ । महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीका क्यान म्यानेजर सि.डी. पाण्डेयले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमले किसानहरुलाई थप हौसला दिएको बताउनुभयो ।
मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) समन्वय समिति बेलडाँडीले सोमबार आयोजना गरेको उखु खेती सम्बन्धी एक दिने तालिमको उद्घाटनका क्रममा उत्कृष्ट किसान तथा योगदानकर्ताहरुलाई सम्मान समेत गरिएको छ । गतविगतका वर्षहरुमा भारत तथा तेस्रो मुलुकमा गई रोजगारी गर्ने केही व्यक्तिहरुले कोभिड १९ को महामारीका कारण लामो समयसम्म भएको बन्दाबन्दीले रोजगारी गुमाएपछि अहिले कृषि पेशा अंगालेका छन् । ती मध्ये अधिकांशले उखु खेती गरिरहेको पाइन्छ । स्थानीय तहहरुले समेत त्यस्ता व्यक्तिहरुलाई कृषि पेशा प्रति आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेका छन् । यद्यपि खेतीयोग्य जमिन सिमसार क्षेत्रमा परिणत हुनु तथा निकुञ्ज क्षेत्रबाट आउने बन्यजन्तुहरु र छाडा पशुचौपायाहरुले खेती नोक्सानी गर्नु यहाँका किसानहरुका लागि चुनौतीको विषय रहेको छ ।