हरिश चन्द्र बाग, कञ्चनपुर ।
वैशाख शुक्ल पूर्णिमाका दिन आज शनिबार देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकोले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएको बताइन्छ ।
जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् भने उनले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएको मानिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने रहेका छन् ।
मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । यिनै विषयमा शिक्षा दिन बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता भएका स्थानहरुमा पाठशाला समेत सञ्चालन गरिएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित सार्वजनिक शैक्षिक गुठी श्री बुद्ध शान्ति बौद्ध पाठशालामा बालबालिकाहरुलाई युग सुहाँउदो गुणस्तरीय शिक्षा र पञ्चशील तथा सत्कर्म सिकाउने कार्य गरिरहेको संस्थापक धनबीर मोक्तान तामाङ बताउँछन् ।
स्थानीय तहको निर्वाचन पछि थुप्रै मठमन्दिर तथा चर्चहरुका लागि बजेट विनियोजन गरिने गरेको भएपनि बौद्ध धर्मावलम्बीका लागि भने कुनै किसिमको पनि बजेट छुट्याउने काम नगरेको प्रति गुम्बा तथा बौद्ध बिहार समिति कञ्चनपुरका अध्यक्ष नरबीर मोक्तानले गुनासो गरेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतारका रुपमा मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।