कञ्चनपुर, ०४ पुस । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको कञ्चनपुर जिल्ला समिति गठन गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, सुदूरपश्चिम प्रदेशका सदस्य समेत रहनु भएका हरिश चन्द्र बागको संयोजकत्वमा जिल्ला समिति गठन गरिएको हो । राष्ट्रिय संयोजक उमीद बागचन्दको प्रमुख आतिथ्यमा शनिबार भर्चुअल माध्यमबाट आयोजित भेलाले गठन गरेको जिल्ला समितिको सहसंयोजकमा प्रदेश सदस्य समेत रहनु भएका भाष्कर केसी र सचिवमा धर्मा कुमारी रोकाया चयन हुनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कञ्चनपुर जिल्ला समिति सदस्यहरुमा निर्मला सुनार (दोधारा चाँदनी), किशोर तामाङ (पुनर्वास), प्रेमा आचार्य (बेलौरी), पहिलाद राना (लालझाडी), विकास सिंह महता (बेलडाँडी), अर्जुन सिंह (शुक्लाफाँटा) र राजेन्द्र बिष्ट (भीमदत्त) लाई चयन गरिएको छ । उक्त बैठकले सल्लाहकार समिति संयोजकमा अमिर तिरुवा तथा सल्लाहकार सदस्यहरुमा दीपेन्द्र बस्नेत र राजेन्द्र पनेरुलाई चयन गरेको छ ।
केही सदस्य पछि थप गरी जिल्ला कार्यसमिति र सल्लाहकार समितिलाई पूर्णता दिइने बताइएको छ । जिल्ला समितिले पूर्णता पाएसंगै पालिका स्तरीय समिति पनि गठन गरिने छ । सुदूरपश्चिम प्रदेशमा अछाम पछि कञ्चनपुरमा जिल्ला समिति गठन गरिएको सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, सुदूरपश्चिम प्रदेश सदस्य सचिव रमा भट्टराईले जानकारी दिनुभयो । अन्य जिल्लाहरुमा समेत यथाशीघ्र सञ्जाल विस्तार गरिने सुदूरपश्चिम प्रदेश संयोजक प्रेम ढुंगानाले बताउनु भएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका केन्द्रीय संयोजक उमिद बागचन्दले सूचनाको हकलाई कार्यान्वयन गर्न, थप बलियो बनाउन, नागरिक मैत्री बनाउन र कानुनी व्यवस्थाको कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनु भयो । त्यस्तै, केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ का संयोजक राजु श्रेष्ठ र केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ का सदस्य सचिव बिष्णु चौलागाईँले सूचनाको हक कार्यान्वयनमा देखिएका चुनौती र आवश्यकताका बारेमा विश्लेषण गर्नुभएको थियो ।