हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ पुस । भुमि सम्बन्धी समस्या समाधान आयोग र सम्बन्धित स्थानीय तहहरु बीच भूमि सम्बन्धी समस्या समाधानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहिबार धनगढीमा आयोजित समझदारी पत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट पहिलो चरणमा छनौट भएका बाँकी स्थानीय तहहरुसंग भुमि सम्बन्धी समस्या समाधान आयोगले सम्झौता गरेको हो ।
कञ्चनपुर जिल्लाबाट बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका पहिलो चरणमा छनौट भएका थिए । कृष्णपुर नगरपालिकाले कार्तिक अन्तिम साता नै सम्झौता गरिसकेको थियो भने बाँकी स्थानीय तहहरुसंग बिहिबार सम्झौता गरिएको आयोगले जनाएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरणका लागि स्थानीय तहहरुसंग सम्झौता भएको समझदारी पत्रमा आयोगका तर्फबाट उपसचिव राजेन्द्र बहादुर अर्यालले हस्ताक्षर गर्नुभएको थियो । बेलडाँडी गाउँपालिका कार्यालयको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्कीको समेत सहभागिता रहेको थियो ।
त्यस्तै, वेदकोट नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो भने कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र उपप्रमुख शुशीला सिंहको पनि सहभागिता रहेको थियो । त्यसैगरी भीमदत्त नगरपालिका कार्यालयको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्टले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको जनाइएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट र उपप्रमुख सुशीला चन्द सिंहको समेत उपस्थिति रहेको थियो ।
कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विशन सिंह थापाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो भने नगर प्रमुख दिल बहादुर ऐर र उपप्रमुख तुलसी देवी हमाल पनि उपस्थित रहनुभएको थियो । कञ्चनपुरको लालझाडी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावलले हस्ताक्षर गर्नुभयो । लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक र उपाध्यक्ष सत्य देवी महरा समेत कार्यक्रममा सहभागी रहनु भएको थियो ।
यद्यपि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले भने बिहिबार समझदारी पत्रमा हस्ताक्षर गरेको छैन । समुदाय स्तरमा कोभिड १९ को संक्रमण फैलिएपछि त्यसकै व्यवस्थापनमा केन्द्रित रहेको दोधारा चाँदनी नगरपालिकाले आफ्नो अनुकुल समयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । बिहिबार आकस्मिक बैठक बसी दोधारा चाँदनी नगरपालिकाले शुक्रबारदेखि लागु हुने गरी एक हप्तासम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
समझदारी पत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले भूमि सम्बन्धी समस्या समाधानको लागि आयोगले द्रुत गतिमा काम गरिरहेको दाबी गर्नुभएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको रिक्त सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट कैलालीको लम्कीचुहाका अगस्त अधिकारी मनोनित हुनुभएको छ । उहाँलाई बिहिबार सोही कार्यक्रमकाबीच सपथ ग्रहण समेत गराइएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको अध्यक्षता एवं भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी प्रसाद ज्ञवाली, प्रतिनिधि सभा सदस्य नर बहादुर धामी सहितका जनप्रतिनिधि र मन्त्रालयका सचिव सहितका कर्मचारी लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।