कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रका विपन्न घरबारविहिन नागरिकहरुका लागि पक्की घर निर्माण भइरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुर क्षेत्रमा लामो समयदेखि बस्दै आएका विपन्न, घरबारविहिन नागरिकले पक्की घरमा बस्न पाउने भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘मुख्यमन्त्री एकीकृत बस्ती’ अन्तर्गत धरमपुर क्षेत्रमा भूमिहिन, घरबारविहिन ३० परिवारका लागि पक्की घर बनाइदिन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ मा मुख्यमन्त्री एकीकृत बस्ती निर्माणका लागि मंगलबार शिलान्यास गर्नुभएको छ ।
सोही क्रममा उहाँले वर्तमान सरकारले भूमिहिन तथा घरबारविहिन कुनैपनि नागरिकलाई स्तरीय आवासको व्यवस्था गरिदिन लागेको बताउनु भयो । राजनीतिक परिवर्तन र संघीयताकै कारण गाँउगाँउमा विकासका आयाम थपिएको बताउँदै उहाँले जनताको अपेक्षा धेरै भएपनि सीमित स्रोतसाधनका कारण अपेक्षाकृत काम गर्न नसकिएको स्वीकार गर्नुभयो । प्रदेश सरकारले एकीकृत विकास र संविधानमा भए अनुरुप जनताका लागि काम गरिरहेको समेत मुख्यमन्त्री भट्टले बताउनु भयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले घरवारबिहिन नागरिकलाई सबै सुविधा एकै ठाँउमा हुने हिसाबले घरबासको प्रबन्ध गरिएको बताउनु भएको छ ।
प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले चुनावमा जनतासंग गरेका बाचा कम्यूनिष्ट जनप्रतिनिधिहरुले पूरा गरिरहेको दाबी गर्नुभयो । असुरक्षित रुपमा बस्दै आएका नागरिकलाई सुरक्षित ढंगले बस्न घरको प्रबन्ध मिलाउन थालिएको उहाँको भनाइ छ । यसअघि संघीय निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सोही क्षेत्रमा भूमिहिन, घरबारविहिन विपन्न नागरिका लागि आवास कार्यक्रम सञ्चालन भएको बताउँदै थप संघीय शहरी विकासबाट २ सय ७७ खरको छानो परिर्वतन गरेर स्तरीय जस्ता फेरिने उहाँको भनाई छ ।
संविधान सभा सदस्य टेकेन्द्र भट्टले कम्युनिष्ट नेतृत्वको सरकारले समृद्धिको कार्यक्रम अन्तर्गत सुरक्षित आवास कार्यक्रम ल्याईँरहदा गरिब जनताको विपक्षमा रहेका प्रतिकृयावादी सलबलाइरहेको टिप्पणी गर्नुभएको छ । त्यस्तै, प्रदेश सभा सदस्य लाल बहादुर खड्काले वेदकोट क्षेत्रका थुप्रै योजना अघि बढेको बताउनु भयो । वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले संघीय र प्रदेश सरकारबाट आएका योजना कार्यान्वयन गर्दै नगर क्षेत्रका विपन्नको परिवारलाई थप सुदृढ गरिने दाबी गर्नुभयो ।
वेदकोट नगरपालिका क्षेत्रमा घर निर्माणका लागि एक करोड बजेटमा नागार्जुन कस्ष्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । नागार्जुन कस्ष्ट्रक्सन प्रालिका संचालक कृष्ण चन्दले समयमै काम सम्पन्न गर्ने बचन दिनुभएको छ । शिलान्यास कार्यक्रमको वेदकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश विक (कुशल) ले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा अन्य जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज लगायत स्थानीय नागरिकको सहभागिता रहेको थियो ।