अलपत्र राजमार्गको न्वारन २०३४।०३५ मा मरामा श्रीपुर सहायक राजमार्ग नामाकरण गरिएको हो । नामकै अल्मलाटबाट ववरमहल फाँटवालाले डीजीको तोक आदेशको मर्म र संकेत नबुझेर श्रीपुर वीरगंज वा श्रीपुर चित्तौनसँग जोडिएको राजमार्ग सम्झेर सडक डिभिजन कार्यालय हेटौडाका लागि रमाना दिँदा ओभरसियर जयनारायण शाह र राजमल महतोको ६ महिनासम्म अलपत्र परे । बेलौरी बजार साझा संस्थाको भवनमा स्थापित उक्त राजमार्गको साइड कार्यालय र कर्मचारी पनि अलपत्र परे ।
२०२३ सालदेखि शुक्लाफााटा शाही सिकार आरक्ष वन विस्तारका क्रममा ब्रह्म वर्कोला देखि अर्जुनीसम्मका दर्जन बढी गाउँवस्ती विस्थापित हुँदा साविक चल्तीका चारवटै बाटाको स्थिति अलपत्र प¥यो । शताब्दी बढी लामो समयसम्म कञ्चनपुरको र पूर्वाद्र्धमा कैलाली समेतको सदरमुकाम रहेको वाणिज्य व्यापार कृषि पर्यटन उद्योग व्यवसाय धर्म संस्कृति शिक्षा स्वास्थ्य र सुरक्षाका दृष्टिले महत्वपूर्ण भएको दक्षिणी भेग बेलौरीका लागि २०३४।०३५ मा अबउप्रान्त राजकीय शिकार आरक्ष वनभित्र नपार्ने प्रतिबद्धताका साथ कलुवापुर, दुलनीया, वन्साहा, कालागौडी, , ढक्का, चान्द्यौ, वन्तरीया, मैनाहा, शान्तिपुर, बेलौरी बजार, चिलाडाङा, भूराकोट, बैशाखा बेलौरी भन्सार हुँदै नेपालभारत सिमास्तम्भ २१० नं. नजीक भारत तर्पmको खजुरीया पुरनपुर राजमार्गसित मिलान हुने गरी ३१ कि.मि. लामो कञ्चनपुर जिल्लाको एकमात्र उत्तरदक्षिण राजमार्गको निर्माण आरम्भ भयो ।
स्थापनाकालको प्रतिबद्धताको विचारै नगरी ढक्का गाउँ वस्तीलाई समेत तत्कालिन शाही शिकार आरक्षवनमा गाभ्नाले जिल्लामा उत्तरदक्षिण निर्वाध यातायातको लक्ष अलपत्र पर्न गयो । २०५१ को मध्यावधी निर्वाचनपछि मदनआश्रित राजमार्ग भनि पुनर्नामाकरण गरियो । न्वारनगरेको ४२ वर्ष र पुर्नन्वारन गरेको २५ वर्ष वितिसक्दा पनि निर्माणको स्वरुप र गतिमा चरम लापरवाही वेवास्ता र उपेक्षा गरिएको छ । निर्माणको जिम्मा कहिले केन्द्रीय कहिले जिल्ला कहिले स्थानीय तहमा धकेला धकेल गरी टालाटुली बाटुली वालखेल जस्तो गरिएको छ । त्यसैले ४२ वर्षमा झण्डै ८ कि.मि. सडक खण्ड सुर्के चन्दन जस्तो कालोपत्रे गरिएको मात्र छ जसको स्वरुप र अवस्था लज्जास्पद छ ।
राजमार्ग निर्माणमा १+१+१+१+२+२+३+३+२ गरी जम्मा १६ जना माननीय सांसद (३ जना माननीय मन्त्री समेत)ले ४२ वर्षसम्म आ–आफ्नो कार्यालमा उचित ध्यान दिएको, अधिकतम बजेट विनियोजन गराएको, उत्कृष्ट काम गराए भरपुर पालनपोषण गराएको दावी गर्दै गर्दा राजमार्ग भने कुपोषणको भयानक जोखिममा परेर राजनैतिक खेलाडीहरुको खेलमैदानमा परिणत भएको छ ।
कञ्चनपुर दक्षिणीभेग र अलपत्र राजमार्ग पहुँच क्षेत्रका वासिन्दा र अतिथि समेतले कम्तिमा २० वर्ष देखि कलुवापुर बेलौरी रुट दैजी बेल्डाँडी रुट, धनगढी बेलौरी रुटमा यात्रा गर्दा अत्यन्त चर्को भाडाा तिर्दै आएका छन् । यी तिनै रुटमा दैनिक २९+२९=५८ वटा लोकल बस सेवा चलेका छन् । पक्कि सडकमा २ रुपैयाँ हाराहारी प्रति कि.मि. भाडा चलेको छ । तर यस क्षेत्रमा प्रति कि.मि. ५ रु. हाराहारी भाडा तिर्नु पर्दा ५–२=३ प्रति कि.मि. बढी भाडा तिर्नु परेको छ । हालको दररेटमा दैनिक हाराहारी रु. १ लाख बढी भाडा तिर्दै गर्दा कम्तिमा २० वर्षको मोटामोटी हिसाब मिलान गरेमा रु. ७० करोड भन्दा बढी भाडा रकम यस क्षेत्रका यात्रीहरुले तिरी सकेका छन् ।
निर्माणमा चरम लापरवाही, ढिलासुस्ती, वेवास्ता र उपेक्षाका कारण अलपत्र राजमार्गबाट रुपान्तरिक यस कथित खेलमैदानमा २०७६ जेठ १ देखि जेठ १४ सम्म सञ्चालन हुने गरी सरोकारवाला पूर्व ठेकेदार कम्पनीका प्रतिनिधि चर्को भाडा तिर्दै आएका यात्रीका प्रतिनिधि नयाँ पुरानो उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारी समेतको आयोजक टीमले फुटवल खेल प्रतियोगिता सञ्चालन गर्ने निधो गरेको छ । विशिष्ट अतिथि दीर्घामा १४ जना पूर्व सांसद (कम्तिमा २ जना मन्त्री सहित), २ जना वर्तमान सांसद (कम्तिमा १ जना मन्त्री सहित), सरोकारवाला ५ जना प्रदेश सभासदस्य (कम्तिमा १ जना सचेतक समेत) ५ वटा स्थानीय सरकारका अध्यक्ष–उपाध्यक्ष लगायत कार्यपालिका सदस्य पदाधिकारीलाई आसीन गराउने समाचार छ । त्यसै गरी वरिष्ठ अतिथि १ सीटमा चुनावी आमसभामा मञ्चमा दुईटै हात हल्लाएर औंलो ठड्याएर ठूलो संख फुकेर आफ्नो पार्टीको टिकटधारीलाई जिताएमा आगामी एक दुई वर्षमा सडक पक्की गराउने वाचा गर्ने ४ वटा विशिष्ट व्यक्तित्व मध्ये १ जना स्वर्गवासीलाई छोडेर तिनै जनालाई ३ सीट भएको सोफामा संयुक्त रुपमा आसिन गराउने योजना अगाडि बढाइएको छ ।
खेल आयोजनाको विज्ञापन सुनेर कम्तिमा २०४८ देखि २०७४ सम्मको चुनावी मैदानमा टिकट हातमा लिएर घरदैलो समेत गरेका प्रतिस्पर्धी उमेदवारले पनि सोही टिकट पेश गरेर विशिष्टकै आसन माग गरेका छन् । यिनीहरुको लाममा ३ देखि ४०० को हाराहारीमा संख्या छ । त्यसैगरी यिनै निर्वाचनमा उमेदवारी टिकटको दावी गरेका हाइट वेट कारणले वा उमेर तलमाथी भएर वा भनसुनको कमिकमजोरी वा पोका पन्दुराको कमिका कारण वा कम्प्युटरको गल्तीको कारण वा आदि इत्यादी कारणले पार्टीले नपत्याएका र कोही स्वतन्त्र स्वघोषित उम्मेदवार बनेका वा कोही रिसको झोँकमा पार्टी छोडी नयाँ पार्टीमा प्रवेश गरेका महत्वाकांक्षी र आकांक्षी उम्मेदवारले पनि विशिष्ट अतिथिमै आशा राखेका र यिनीहरुको संख्या त धेरै हजार पुग्ने सम्भावना देखिएको र चर्को भाडा तिरी जोखिम यात्रा गरेका हरुले पनि विशिष्ट नै ताकेको अवस्थामा यिनीहरुको संख्या त लाखको हाराहारी पुग्ने भएको हुँदा ककस्लाई आसनग्रहण गराउने भन्ने विषयमा आयोजक वर्गमा डिवेट जारी छ । मैदानमा खेलाडी टीम उत्रिसकेको अवस्था छ । बेलौरी ए, लालझाडी ए र शुक्लाफाँटा ए प्रतिस्पर्धी टीम हुन भने बेलडाँडी बी र पुनरवास बी वैकल्पिक टीम ।
अति प्रमुख अतिथि १ सीटका लागि हैसियत वाला व्यक्तित्व खोजी भैरहेको छ । यात्रीहरुलाई निचोरेर जम्मा भएको रु. ७२ करोडको थैली वस कम्पनीहरुकै जिम्मा रहेको त्यतिकै रकम थपेर थैली हस्तान्तरण गर्दा दोब्बर गरेर अर्थात रु. २ अर्व ८८ करोडको बजेट विनियोजन गरी अलपत्र राजमार्ग भर्सेज अलपत्र खेल मैदानको रुपान्तरणका लागि थैली फिर्ता गर्नेलाई नै अति प्रमुख अतिथिको आसन ग्रहण गराइने गोप्य सूचना पनि बाहिर आएको छ । बुद्धिजिवी समाजसेवी सञ्चारकर्मी, सुरक्षाकर्मीका लागि दर्शक दीर्घामा आरामदायी आसनको व्यवस्था गरिने छ । आसनग्रहणको क्रम अत्यन्त लामो र जटिल हुने सम्भावनाले बजेट सत्रसम्म नटुङ्गीने भएमा प्रतिस्पर्धा नै स्थगन हुने सम्भावना बढेको छ । खेल चले पनि नचलेपनि आसन ग्रहण क्लियर भैसकेका आदरणीय अतिथिका लागि देशीविदेशी पूmलमाला कम्पनीलाई अडर भैसकेको हुँदा ढिलो भएमा २०७८ को निर्वाचन भन्दा पूर्व र झन ढिलो भएमा निर्वाचनताकानै घरदैलो कार्यक्रममा ससम्मान ४५ किलोग्रामको माला लगाईने छन् । आजलाई अलपत्र राजमार्ग भर्सेज खेलमैदान सम्बन्धी अलपत्रे, खलपत्रे, धुलाम्मे, हिलाम्मे, वगडे, उवडे, खावडे लेख पनि ...............
लेखक
तत्कालिन महाकाली उ.मा.वि. बेलौरीका पूर्व प्राचार्य
केशव राज जोशी