हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ मंसिर । केपी शर्मा ओली नेतृत्वको वर्तमान संघीय सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हानुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्री बिना मगर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको तीन वर्ष पूरा भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित बिना मगर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको प्रारम्भिक चरणमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाम गठबन्धनकी उम्मेदवार भई निर्वाचित हुनुभएको थियो । निर्वाचित भइसकेको केही समयपछि देखि नेपाल सरकारको खानेपानी मन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएकी नेतृ बिना मगर आफु निर्वाचित भएको क्षेत्रमा भने निक्कै कम उपस्थित हुने गरेको पाइन्छ ।
निर्वाचन क्षेत्रका नेता कार्यकर्ता तथा आमजनमानसमा मन्त्री बिना मगरको न्यून उपस्थितिले निराशा पैदा गर्ने गरेको भएपनि बीचबीचमा हुने गरेको पुनरागमनले पुनः आशाको दियो बल्ने गर्दछ । बिना मगरले मन्त्रीको जिम्मेवारी सम्हाले देखि उहाँलाई देशभर खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने कार्यभार पनि छ । र पनि निर्वाचन क्षेत्रको विकासका लागि सुवर्ण अवसर अहिले नै प्राप्त भएको छ, मन्त्री बिना मगरलाई । उक्त सुवर्ण अवसरलाई सदुपयोग गरी निर्वाचनको समयमा नागरिक समक्ष गरिएका ती प्रतिवद्धता पूरा गर्ने तथा समृद्धि र विकासका सपना साकार पार्ने समय पनि यही नै हो मन्त्री बिना मगरका लागि । केही महत्वपूर्ण कामको शुरुवात भएको छ तर उपलब्धी हेर्न अझै पर्खनुपर्ने अवस्था छ ।
प्रतिनिधि सभामा निर्वाचित भएको तीन वर्ष पूरा हुँदा मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका पत्रकारहरुसंग पहिलो पटक अन्तरंग सामुहिक कुराकानी गर्नुभएको छ । कञ्चनपुर स्थित बेलडाँडी गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासकीय भवनको उद्घाटनका लागि बिहिबार निर्वाचन क्षेत्रमा आउनु भएकी मन्त्री बिना मगरले शुक्रबार दिउँसो पुनर्वास स्थित आफ्नै निवासमा झण्डै आधा घण्टा लामो समयसम्म यहाँका पत्रकारहरुसंग अन्तरंग कुराकानी गर्नुभएको हो । यसअघि प्रायः औपचारिक कार्यक्रमहरुमा मात्रै पत्रकारहरुसंग सामान्य भेटघाट हुने गरेको भएपनि यसपटक भने मन्त्री बिना मगरले यहाँका पत्रकारहरुसंग समसामयिक र महत्वपूर्ण विषयहरुमा अनौपचारिक तर आत्मीय कुराकानी गर्नुभयो । त्यस दौरानमा मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विविध विषयमा चिन्ता र चाँसो व्यक्त गर्नुभएको छ ।
पत्रकार भेटघाटका क्रममा उहाँले कुनै निश्चित विषयवस्तु (देशको पछिल्लो राजनीतिक परिस्थिति, सम्भावित अवस्था, आफ्नो कार्यगत प्रगति र उपलब्धी तथा मन्त्रालयका योजनाहरु आदि विषय) मा त आधिकारिक रुपमा कुनै धारणा राख्नुभएन, तर निरन्तर जिम्मेवारी बोध भएको आभाष भने गराउनु भयो । लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजनामा बढी केन्द्रित भएको जस्तो देखिने खानेपानी मन्त्रालयले देशभरका नागरिकका लागि समेत शुद्ध खानेपानीको व्यवस्था गर्ने गुरुयोजना बनाई कार्य अघि बढाएको भएपनि विविध कारणले ठूला आयोजनामा अपेक्षाकृत सफलता प्राप्त भइनसक्दा अन्य ससाना तर महत्वपूर्ण कार्यप्रगति ओझेलमा परेको मन्त्री बिना मगरको आशय रहेको बुझ्न सकिन्छ ।
मन्त्रालय अन्तर्गतका योजनासँगै अन्य विकासे योजनाहरुमा समेत विशेष जोड दिई निर्वाचन क्षेत्रका लागि आफु केन्द्रित रहेको मन्त्री बिना मगरको दाबी छ । मिडियाहरुमा सामान्यतया आफु निक्कै कम देखिने मन्त्री बिना मगरको आशय पार्टी पंक्ति तथा आमनागरिकले प्राप्त उपलब्धीहरुको मूल्यांकन गरुन् भन्ने रहेको पाइन्छ । स्वयं आफै मिडियामा बोल्नु भन्दा भएका उपलब्धीलाई अर्को पक्षले मुल्यांकन गरी उठाइदिएमा आमनागरिकले पत्त्याउनेमा उहाँ विश्वस्त देखिनु हुन्छ । केही समयसम्म त काम गर्न पार्टी भित्रैबाट समेत निक्कै पेचिलो परिस्थिति सृजना भएको बताउँदै मन्त्री बिना मगरले पछिल्लो समयमा भने सबै पक्ष र निर्वाचन क्षेत्रका सबै आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको साथ र समर्थन पाएकोले निर्विवाद विकास निर्माणका कार्य गर्न सकिने वातावरण रहेको महशुस गर्नुभएको छ ।
पत्रकारहरुसंगको अन्तरंग कुराकानीका क्रममा उहाँले यहाँका अग्रज नेतृत्वकर्ता तथा अभिभावकहरुको सुझाव र सरसल्लाहमा युवावर्गसँगै सहकार्य गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने चाहना व्यक्त गर्नुभएको छ । मन्त्री बिना मगरले आफु सधैँ कञ्चनपुरकी चेलीको रुपमा रही यहीँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमाँझ रहने हुँदा दीग्भ्रमित नहुन सबैलाई अनुरोध गर्नुभयो । विकास र समृद्धिका लागि युवावर्गको सकृयता र हातेमालो अनिवार्य रहेको उहाँको भनाइ छ । निर्माणधीन डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडकखण्ड, बेलौरी–कलुवापुर सडकखण्ड, कृषि सडकखण्ड, शिक्षा, स्वास्थ्य लगायतका अन्य भौतिक संरचना, सीमा सुरक्षा र आम नागरिकको जनजीवनसँग जोडिएका विविध विषयमा सबैले सकारात्मक ढंगबाट सहकार्य गरी अगाडि बढ्नुपर्नेमा मन्त्री बिना मगरको जोड रहेको पाइन्छ ।
(खानेपानी मन्त्री बिना मगरसँगको अनौपचारिक भेटघाटका क्रममा भएका कुराकानीमा आधारित)