हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ मंसिर । कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक कार्यक्रमका लागि बेलडाँडीमा ब्लक सञ्चालक समिति गठन गरेको छ । बेलडाँडी गाउँपालिकाभित्र वैवाहा र आसपासको क्षेत्रलाई तरकारी ब्लकका रुपमा क्षेत्र विस्तार गर्न र कृषकहरुलाई व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन तरकारी ब्लक कार्यक्रम शुरु गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रण बहादुर मल्लले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उत्पादन र उत्पादकत्व बढाउँदै हरियो तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले ब्लक कार्यक्रम लागु गरिएको हो । कार्यक्रम लागु भएपछि कार्यालयले बीउ, बेर्ना, मल, सिँचाइ, बजार व्यवस्थापन आदिमा सहयोग उपलब्ध गराउने छ । तर यसका लागि ब्लक सञ्चालक समितिको प्रस्ताव आवश्यक पर्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले जानकारी दिनुभयो ।
नवगठित तरकारी ब्लक सञ्चालक समिति बेलडाँडीको संयोजकमा रामलाल चौधरी, सहसंयोजकमा बसन्ती चौधरी, सचिवमा देशुराम चौधरी, सहसचिवमा दुर्गादेवी चौधरी सहित अन्य ५ जना सदस्य रहेका छन् । स्थानीय कृषकहरुकै सहभागिता र संलग्नतामा निर्माण गरिएको समितिले कृषकहरुका समस्या र आवश्यकता गाउँमै पूरा गर्ने स्थानीय कृषकहरुले अपेक्षा गरेका छन् । यो कार्यक्रमले बजारीकरणमा पनि सहजीकरण गर्ने ब्लक सञ्चालक समितिका संयोजक रामलाल चौधरीको विश्वास छ ।
बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्कीले उक्त कार्यक्रमबाट कृषकहरु थप लाभान्वित हुने उल्लेख गर्नुभयो । त्यस्तै, बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले तरकारी ब्लक कार्यक्रमबाट यहाँका कृषकहरु आत्मनिर्भर बन्ने र स्वरोजगार प्रवर्धनमा समेत टेवा पुग्ने बताउनु भयो । लामो समयसम्म ब्लक कार्यक्रम जारी रहने भएकोले लगनशील, इमान्दार र मेहेनती भएर व्यावसायिक तरकारी उत्पादनमा लाग्न उहाँले स्थानीय कृषकहरुलाई अनुरोध गर्नुभयो ।