हरिश्चन्द्र बाग, कञ्चनपुर । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बनाईदै आएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि अहिले जारी रहेको छ । नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने नारा सहित मनाइदै छ । पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य अनुरुप अभियान मनाउने गरिएको हो ।
यसैबीच, कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले समेत लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा विभिन्न वडाहरुमा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरिरहेको बेलडाँडी गाउँपालिका महिला तथा बालबालिका शाखाकी संयोजक शारदा पनेरुले बताउनु भयो । उहाँका अनुसार, हालसम्म बेलडाँडी गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ३ मा अन्तरक्रिया कार्यक्रम गरिएको छ भने अन्य वडाहरुमा समेत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्य तालिका रहेको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा वडा सदस्य एवं कार्यपालिका सदस्य लक्ष्मी भट्टको सभापतित्वमा यही मंसिर १६ गते आयोजित कार्यक्रममा महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध अभियान सञ्चालन, बाल विवाह न्यूनीकरण, मानव बेचविखन तथा ओसारपसार विरुद्ध तथा अन्धविश्वास, कुरीति, कुप्रथाका नाममा हुने हिंसा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण गरिएको थियो ।

त्यस्तै, यही मंसिर १७ गतेका दिन बेलडाँडी गाउँपालिका वडा नम्बर ३ मा गाउँपालिका उपाध्यक्ष कमला देवी कार्कीको सभापतित्वमा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरिएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्कीले घरेलु हिंसा, मानव बेचविखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मुल गर्न सबै सक्रिय हुनुपर्ने बताउनु भयो ।

दुवै वडाहरुमा भएका सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रतिनिधि, कर्मचारी, समाजसेवी, बुद्धिजिवी तथा सरोकारवाला स्थानीय नागरिकहरुको समेत सहभागिता रहेको महिला तथा बालबालिका शाखाकी संयोजक शारदा पनेरुले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासहरुका कारण समाजमा देखिने लैंगिक हिंसाको पूर्ण रुपमा अन्त्य गर्न सबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।