हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा स्क्रिनिङ क्याम्प आयोजना गरिएको छ । महाकाली प्रादेशिक अस्पतालको आयोजनामा शुक्रबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित स्क्रिनिङ क्याम्पमा महिलाहरूको आङ खस्ने र पुरूषहरूको हाइड्रोसिलको परीक्षण गरिएको हो ।
बेलडाँडीमा आयोजित स्क्रिनिङ क्याम्पमा विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूको टोलीले महिलाहरूमा देखिने आङ खस्ने र पुरूषहरूमा देखिने हाइड्रोसिलका बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको छ । उक्त क्याम्पबाट छनौट भएका बिरामीहरु र संबन्धित अन्य बिरामीहरुका लागि महाकाली अस्पतालमा यही मंसिर २५ गतेदेखि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिने छ । त्यस्तै, यही मंसिर २७ गतेका दिन कञ्चनपुरको माहाकाली नगरपालिकामा समेत स्क्रिनिङ क्याम्प सञ्चालन गरिने महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले बताउनु भयो ।
महिलाहरुको पाठेघर वा योनिको माथिल्लो भागले ठाउँ छाडी तल सर्ने अथवा खस्ने समस्यालाई बोलीचालीको भाषामा आङ खस्नु भनिन्छ । सुत्केरी हुँदा पर्न सक्ने समस्या र त्यसपश्चात् यथेष्ट आराम नगरे, ग¥हुँगो काम वा भारी उठाउन थाले, यथेष्ट जन्मान्तर नराखे, लामो र कष्टपूर्ण व्यथा लागे आङ खस्ने समस्या देखा पर्न सक्छ । ग्रामीण क्षेत्रका थुप्रै महिलाहरुमा आङ खस्ने समस्या बढी देखिने गरेको महाकाली प्रादेशिक अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सोमनाथ भण्डारीको भनाइ छ ।
त्यस्तै, पुरुषहरुको अण्डकोषमां पानी भरिएर सुन्निनु र अण्डाशय सामान्य भन्दा ठूलो देखिनुलाई हाइड्रोसिल भनिन्छ । तर अण्डकोष सुन्निने सबै कारणहरु हाइड्रोसिल होइनन् । अण्डकोष सुन्निनुका विभिन्न कारण मध्ये हाइड्रोसिल सबैभन्दा सामान्य कारण हो । पुरुषहरु ले कुनै न कुनै समयमा हाइड्रोसिलका कारण अण्डकोष सुन्निएको महसूस गरेका हुन सक्छन् । हाइड्रोसिल अन्य कारणले पनि हुनसक्ने महाकाली प्रादेशिक अस्पतालमा कार्यरत एम.डी, जि.पी डा. अर्जुन भट्टले बताउनु भयो ।
महाकाली प्रादेशिक अस्पतालले दिने सेवामा गरेको स्तरोन्नति सँगै ग्रामीण क्षेत्रका बिरामीहरुलाई लक्षित गरी सञ्चालन गर्ने गरेको स्वास्थ्य शिविरले यहाँका नागरिकहरुले सहजै स्वास्थ्योपचार पाउने संकेत देखाएको छ ।