कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नाली सहितका पक्की सडक निर्माण सुरु गरिएको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा महेन्द्रनगर बजार क्षेत्रमा सडक निर्माण अघि बढेको हो । भीमदत्तलाई आधुनिक सहर बनाउने लक्ष्य अनुसार पहिलो चरणमा महेन्द्रनगर बजार र पूर्व पश्चिम राजमार्ग आशपास क्षेत्रमा ढल सहित १४ किलोमिटर पक्की सडक बनाउन सुरु गरिएको हो । सडकसंगै २२ किलोमिटर ढल बनाउन लागिएको छ । आयोजना अन्तर्गत नगरपालिका क्षेत्रमा ३६ दशमलव ५ किलोमिटर सडक निर्माण गर्ने योजना छ । ‘भीमदत्तलाई व्यवस्थित सहर आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्य अनुसार ढल सहितका पक्की सडक निर्माण सुरुवात गरिएको छ’ भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले भने,‘यो सुरुवात हो, आयोजना अन्तर्गतका बाँकी सडक निर्माण कार्य पनि सुरु गर्छौ ।’
भीमदत्तमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पक्की सडक सहित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउने योजना छ । त्यसका लागि नगरपालिका जग्गा व्यवस्थापन कार्य अघि बढाइएको छ । पहिलो चरणमा महेन्द्रनगर बजार क्षेत्रमा ९ किलोमिटर र अन्य क्षेत्रमा पाँच किलोमिटर सडक बनाउन लागिएको छ । बजारका सबै पाँच ओटै गल्लीका सडक पक्की हुने छन् । यसैगरी कटान क्षेत्रका चार गल्लीका सडक पक्की हुने भएका छन् । बजार र कटान बाहेक नापी कार्यालय, ट्राफिक चोक महाकाली अस्पताल, चमनचोक मदनचोक एयरपोर्ट, चमनचोक विष्णु मन्दिर, भाँसी ब्यारियल उत्तर राजीपुर, होटल ओपेरा, मेन रोड भगतपुर, नगरपालिका कार्यालय भगतपुर, र गल्ली नं। १ देखि सालघारीसम्म सडक पक्की हुने छन् ।
ट्राफिक चोक नजिक औपचारिक कार्यक्रम गरी सडक निर्माण कार्य शिलान्यास गरिएको छ । कञ्चनपुर क्षेत्र नं। ३ का साँसद डा। दिपक प्रकाश भट्टले सडक शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार, भीमदत्तका मेयर सुरेन्द्र विष्ट लगायतका जनप्रतिनिधि सहभागी भएका छन् । साँसद भट्टले रिबन काटेर सडक शिलान्यास गरेका छन् । उनले भीमदत्तमा निर्माण सुरु गरिएका पक्की सडकले आधुनिक सहरको झल्को दिने बताए । ‘भीमदत्तमा नयाँ ढङ्गले सडक निर्माण अघि बढाइएको छ, यी सडकले आधुनिक सहरको झल्को दिने छन्’ उनले भने,‘सडक निर्माण समयमा पूरा होस, यसमा संघ सरकारको सहयोग रहन्छ ।’
साँसद भट्टले भीमदत्तमा स्थानीय तह निर्वाचनपछि रणनीतिक महत्व र दिगो विकासको अवधारणालाई आत्मसात गरी विकासका योजना अघि सारिएको उल्लेख गर्दैै अहिले आधुनिक सडक निर्माण कार्य पनि थपिएको बताए । सुख्खा बन्दरगाह, महाकाली कोरिडोर निर्माण, मझगाउँ विमानस्थल सञ्चालन, महाकाली अस्पताल सुधार लगायतका चुनावी एजेण्डालाई प्राथमिता दिइएको साँसद भट्टले बताए । पहिलो चरणको सडक निर्माणका लागि ८८ करोड ७७ लाखमा ठेक्का दिइएको छ । जेडआइसी लामा जेभी काठमाडांैसित दुई वर्षमा सडक निर्माण पूरा गर्ने सम्झौता गरिएको छ । क्षेत्रीय सहरी विकास आयोजना क्षेत्रीय आयोजना कार्यान्वयन इकाई धनगढीले सडक निर्माण अघि बढाएको हो ।
एशियाली विकास बैंकको ऋण सहयोगमा कञ्चनपुरमा भीमदत्त र शुक्लाफाँटा नगरपालिकाका आयोजना सञ्चालनमा छ । भीमदत्त नगरपालिकाको नगर स्तरीय आयोजना समन्वय समितिका फोकल पर्सन इन्जिनियर गोरख बहादुर सिहले सडक कम्तीमा १० मिटर र बढीमा ३४ मिटरसम्म चौडाईको हुने बताए । ‘यो आयोजना अन्तर्गत पहिलो चरणमा सडक निर्माण सुरु गरिएको हो, आयोजना अन्तर्गत ३६ दशमलव सडक बनाउने लक्ष्य हो’ उनले भने,‘आयोजना अन्तर्गतका अन्य सडक निर्माण कार्य पनि अघि बढ्छ ।’ आयोजना अन्तर्गत छनौट गरिएका सबै योजनाका लागि भीमदत्तमा तीन अर्ब बजेट खर्च हुनेछ ।