हरिश्चन्द्र बाग / प्रेमा आचार्य, कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकामा सोमबार आयोजित आधारभूत अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री बिना मगरले निर्वाचन क्षेत्र मात्र नभएर समग्र सुदूरपश्चिमलाई विकासको मूलधारमा जोड्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कञ्चनपुरका ९ वटा स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास ।।
नेपाल सरकारले देशभरका ३९६ स्थानीय तहमा एक साथ ५, १० र १५ शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि सोमबार शिलान्यास कार्यक्रमको घोषणा गरेसँगै कञ्चनपुरका ९ वटा स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहमा शिलान्यास गरिएको छ । जसमध्ये लालझाडी गाउँपालिकामा १० शय्या, पुनर्वास नगरपालिकामा १५ शय्या, बेलौरी नगरपालिकामा १५ शय्या, शुक्लाफाँटा नगरपालिकामा १० शय्या, वेदकोट नगरपालिकामा १५ शय्या र माहाकाली नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको हो ।
लालझाडी गाउँपालिकामा निर्माण हुने १० शय्याको शंकरपुर अस्पतालको शिलान्यास कार्यक्रमलाई खानेपानी मन्त्री बिना मगरले सम्बोधन गर्नुभएको थियो भने गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले धार्मिक पद्दती अनुसार पूजाआजा गरी शिलान्यास गर्नुभएको छ । त्यस्तै, पुनर्वास नगरपालिकामा बन्ने १५ शय्याको अस्पतालको शिलान्यास मन्त्री बिना मगरले गर्नुभएको नगर प्रमुख जीवन राज थापाले बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य तारा लामा तामाङको समेत सहभागिता रहेको थियो ।
बेलौरी नगरपालिकामा समेत १५ शय्याको अस्पतालको शिलान्यास गरिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक अर्जुन ढकालले बताउनु भएको छ । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधारभूत अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै संघीय सरकारको अनुदानमा बन्ने १५ शय्याको अस्पताल निर्माण पछि यहाँका नागरिकले अधिकांश स्वास्थ्योपचार सुविधा सोही अस्पतालबाट पाउने विश्वास व्यक्त गर्नुभएको छ । घर छेउमै ठूल्ठूला रोगको उपचार गर्न पाउनु सबैका निम्ति खुसीको कुरा भएको कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुको भनाइ छ ।
त्यसैगरी, बेदकोट नगरपालिकामा निर्माण हुने १५ शय्याको अस्पतालको शिलान्यास कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले गर्नुभएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभएको छ । दैजी स्वास्थ्य चौकी स्तरोन्नती तथा १५ शय्या अस्पतालको शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिना बुढाथोकीको समेत उपस्थिति रहेको थियो ।
प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले शुक्लाफाँटा नगरपालिकामा निर्माण हुने १० शय्याको अस्पतालको समेत शिलान्यास गर्नुभएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दील बहादुर ऐरले जानकारी दिनुभयो । आधारभूत नगर अस्पतालको शिलान्यास कार्यक्रममा पूर्वसांसद तथा संविधान सभा सदस्य कृपा राम रानाको समेत उपस्थिति रहेको थियो ।
कञ्चनपुरकै माहाकाली नगरपालिकामा निर्माण हुने १५ शय्याको अस्पतालको शिलान्यास कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले गर्नुभएको माहाकाली नगरपालिकाका प्रवक्ता दील बहादुर सिजालीले बताउनुभयो ।