पहिलाद राना, कञ्चनपुर, ०४ मंसिर । बझाङ स्थायी घर भई हाल महेन्द्रनगरमा बस्दै आएकी ३४ वर्षीय पार्वती जोशी अहिले एकल जीवनसंगै कष्टपूर्ण जीवन विताउन बाध्य छिन् । उनको यो कष्टपूर्ण जिवन हुनुमा प्रमुख कारण हो कहिलै उमेरमा विवाह (बालविवाह) ।
विद्यालयको पँहुचबाट धेरै टाढा रहेकी पार्वतीको ०५७ सालतिर १४ वर्षको कलिलो उमेरमै घरपरिवारले विवाह गरिदिए पछि सुरु भए उनका दुःखका दिन । विहे भएको एक÷दुई बर्षसम्म घर परिवारसंग सुमधुर सम्बन्ध रहेपनि केहि वर्षपछिबाट उनले श्रीमान र घरपरिवारबाट पाउँन सम्म दुख पाईन् । शारीरिक मात्रै नभई चरम मानसिक यातनासंगै आर्थिक अभाव समेत भोगेकी पार्वती ती घट्ना सम्झदाँ आँखामा आँशु झार्छिन । जति काम गर्दा पनि उनलाई घरपरिवारकोे माया कहिल्यै मिलेन् । परिवारको साथ सहयोग नपाएकी उनले विहे भएको दुई बर्षमा एउटा सन्तान त जन्माईन तर कुपोषणका कारण मृत । त्यसपछि घरको अत्याधिक शारीरिक कामले उनको प्रजनन क्षमता ह्रास हुदै गयो ।
हुँदा–हुँदै पाठेघर खस्ने समस्याले उनले अर्को सन्तान जन्माउन सकिनन् र त्यसपछि श्रीमानले दोस्रो विहे गरे । त्यसपछि उनीमाथि झनै बज्रपात प¥यो । कानुनमा बहुविबाह गर्नेलाई कारवाही गर्ने ऐन नियम भएता पनि बहुविबाह गर्ने लोग्नेका विरुद्ध उजुरी हाल्नु त परको कुरा, एक शब्द पनि बोल्न सकिनन् । ‘लोग्नेले गरेको बहुविबाहको विरुद्ध बोल्न सकिएन् ।’ पीडित जोशीले भनिन, ‘बहुविवाहको मुद्दाबारे थाहा नै थिएन ।’
कुकुरको भन्दा नि तल्लो स्तरको व्यवहार आफूले खेप्नुपरेको पार्वती बताउँछिन । ‘अहिले सम्झीदाँपनि आङ्ग सिरिङ्ग हुन्छ । समयमा होस पुगेन् के गर्नु घर न घाटको जीवन जीउँनु नै मेरो नियतिमा लेखेको रैछ’ उनले भनिन् । लोग्नेले नै उनीमाथि ठूलो बज्रपात थपेपछि घर परिवारसंगको सम्बन्ध झनै विकराल बन्दै गयो । घरपरिवारले सहयोग नगरेपछि महेन्द्रनगर स्थित कहिले फुपुसासुको घरमा त कहिले कान्छा ससुराको घरमा काम गरेर १५ बर्ष बिताईन । त्यसपछि फुपाजु ससुराको सहयोगमा महेन्द्रनगरको एक विद्यालयको कार्यालय सहयोगीको रुपमा रोजगारी पाएपछि जिवनयापनमा अलि सहज भयो । पछिल्लो समयमा आएर विश्वव्यापी रुपमा रहेको कोरोना महामारीको कारण देशमा लकडाउन भएपछि जसोतसो ज्याला मजदुरी गरेर कष्टपूर्ण जीवन बिताउँदै आईरहेकी छिन ।
बालविबाहको कारण पिडादायी जीवन व्यतित गर्ने उनी एक प्रतिनिधी पात्र मात्र हुन । कञ्चनपुरमा यस्तो पिडा भोग्ने पार्वती मात्रै एक्ली छैनन् । बालविबाहको कारण उनी जस्तै कहाली लाग्दो पिडा पाएकी छन् । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–३ की २४ वर्षीय यशोदा भट्टले । विसं ०७२ तिर १८ वर्षको उमेरमै घरकै सहमतीमा अत्तरियाका एक जना २२ वर्षीय यूवकसँग बिहे गरिन् । कक्षा १२ उत्तीर्ण गरेर विवाह बन्धनमा बाधिएकी भट्टले घरपरिवारको माया पाउनु त परको कुरा श्रीमानबाट समेत कहिलै माया पाईनन् । घरपरिवारबाट समेत मरणासन्न हुनेगरी कुटाई खानु पर्यो ।
कानुन बारे सामान्य जानकारी भएपनि उनले घरपरिवारको ईज्जत सम्झेर सधै अन्याय अत्याचारलाई चुपचाप सहिरहिन् । आफ्नो ज्यान नै दाउमा लाग्न थालेपछि उनले भागेर आफ्नो प्राण जोगाईन् । अहिले सम्बन्ध विच्छेदको उनको मुद्धा कैलाली जिल्ला अदालतमा विचाराधीन छ । दुई वर्ष भईसक्दा पनि आफूले न्याय नपाउँदा विचल्लीमा परेको र माईतीकै सरणमा बाच्नुपरेको उनको दुखेसो छ । उनले न्याय पाउन सकेकी छैनन् । अपरिपक्व उमेरमा भएको विवाहले न त उनले अध्ययन नै गर्न पाइन न त घरजम नै ।
अहिले पनि श्रीमानको पिटाईको त्रासदी मनमा अमिट बसेको छ । रातीमा समेत उनी त्यहीँ कुटाईको पिडा सम्झेर व्युउझिने गर्छिन् । ‘बेसाहारा जीन्दगीलाई सराप्नुको विकल्प नै के छ र ?’ उनी भन्छिन् ‘जीवन यस्तै रहेछ समयमा बुद्धि पुगेन् ।’ अब सम्बन्ध विच्छेद भए आफ्नै पौरख गर्ने सोचाई उनको छ ।
बालविवाहकै कारण जीवन यता न उताको परेकी अर्की हुन् सरस्वती बोहरा । २० वर्षीय सरस्वतीले १६ वर्षकै उमेरमा प्रेम गरेर भागेर विहे गरिन् । विसं २०७३ तिर कक्षा १० पढ्दा पढ्दै भागेर बिहे गर्दा केटाको परिवारले उनलाई अन्तरजातिय विहे गरेकोमा स्वीकार गरेन् । बालविबाहका कारण शुक्लाफाँटा ११ की सरस्वतीले विवाह दर्ता गर्न नै पाईनन् । उनी एक वर्ष यतादेखि माईतीकै सरणमा छिन् । माईतीमा बस्दा पनि समाजमा कुरा काट्ने तथा विभिन्न लालछना सहनु परेको उनले पोखिन ।
उनको जस्तै पिडा भोग्ने अर्की हुन् १९ वर्षीय नाम परिवर्तन (रोजी) । अशिक्षा र अज्ञानताका कारण शुक्लाफाँटा नगरपालिका घर भएकी उनले १४ वर्षकै कलिलो उमेरमा भागेर विहे गरिन् । तर उनको दुई वर्ष नपुग्दै घर–परिवारसँग खटपट पर्यो । घर–परिवारसंग खटपट परेपछि एक वर्ष उनी माईती घरमा बसिन् । माईतीमा कति बस्ने भनेर उनको दिदीले आफ्नो घर लगिन । दिदीको आश्रय पाएकीले उनले फेरी पनि समस्या भोग्नु प¥यो । उनी भिनाजुको यौन शोषणमा परिन । भिनाजुले गरेको यौन शोषण समाजमा बाहिर ल्याउन सकिनन उनले । भिनाजुको गिद्धेनजर सधै उनीमाथि परिरह्यो । भिनाजुको गिद्धेनजरका कारण पेटमा बच्चा समेत बस्न पुग्यो । उनको पेटमा बच्चा रहेको पत्ता लागेपछि परिवारले उनलाई स्वीकार गरेन् , दिदीको परिवारले अर्कैको जिम्मा लगाउन खोजे । यो केस प्रहरी सम्म पुग्यो । तर केटापक्षले डि.एन.ए. परिक्षणसम्मको कुरा गरेपछि दिदीका घरपरिवारले बाध्य भएर स्वीकार गरे । उनको अहिले एक छोरा छन् । उनीमाथि न त दिदीले न त भिनाजु (श्रीमान)ले नै राम्रो व्यवहार गर्छन् । अहिले उनी साह्रै नै समस्यामा छन ।
त्यसैगरी बेलौरी नगरपालिका –५ घर भएकी २६ वर्षीय नाम परिवर्तन (सोनु राना) ले विसं २०७१ बैशाख ५ मा १९ वर्षको उमेरमा भागेर विहे गरिन् ।रानाका लोग्नेको कमाईबाट परिवार धान्न सकस पर्न थालेपछि उनले पुर्नवास नगरपालिका –१० को एक निजि विद्यालयमा शिक्षिका रुपमा काम गर्न थालीन् । अध्यापन पेशाबाट उनको जीवीका राम्रोसँगै चलिरहेको थियो । शिक्षण पेशा शुरु गरेको दुई महिना नपुग्दै रानाका लोग्नेले समाजका अरु मानिससँग नजिकीएको आरोप लगाउदैँ घर झगडा गर्न थाले । केही समयपछि छरछिमेक र आफन्तसँगको बोलचालमा समेत रोक लगाए । विभिन्न आरोप लगाएर शारिरीक तथा मानसिक पिडा दिन थालेपछि अन्ततः उनी अध्यापन पेशा छोड्न बाध्य भईन् । उनको घरझगडा गाउँघरसम्म मात्रै सिमित रहेर अदालत सम्म पुग्यो । गत मंसिरदेखि उनको सम्बन्ध विच्छेद सम्बन्धी मुद्धा कंचनपुर जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
सानै उमेरमा विवाह गर्दा अनमेल हुने, अपरिपक्तताका कारण झगडा हुने, सानै उमेरमा प्रजनन प्रक्रिया गरिदाँ स्वास्थ्यमा दिर्घकालीन समस्या पाठेघर खस्ने, समाजिक तथा आर्थिक अवस्था राम्रो हुन नसक्ने लगायतका विकराल समस्या देखापर्ने गरेको महिला अधिकार कर्मीहरुको भनाई छ । कलिलो उमेरको हुने विवाहले समाजमा बालबालिका तथा किशोर–किशोरीहरुको मानसिक तथा शारिरीक विकासमा प्रतिकुल प्रभाव पारेको विज्ञको भनाई छ । अहिले सामाजिक संजालले समेत बालविवाह गर्न उक्साई रहेको कतिपय अभियान्ताहरुको दावी रहेको छ । कलिलो उमेरमा सामाजिक सञ्जालका कारण प्रेममा पर्ने तथा असुरक्षित शारिरीक सम्पर्क हुने र समाजको लाजले विहे गर्न बाध्य हुने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।