हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ जनकबस्तीका गोरख बहादुर नेपाली मजदुरीका लागि श्रीमती र बालबच्चा सहित भारतको सिमला पहाडमा जानुभयो । स्वदेशमा गुजारा नचलेपछि उहाँ परिवार सहित भारतको सिमला पहाडमा मजदुरी गर्दै आउनु भएको थियो । काम गर्ने क्रममा अचानक गत चैत महिनामा उहाँ भीरबाट लडेर गम्भीर घाइते हुनुभयो । उक्त दुर्घटनामा परी उहाँ केही दिन अचेत समेत रहनुभयो । उहाँको शरीरका प्रायः सबै अंग निष्कृय भइसकेका थिए ।
त्यो समयमा उहाँलाई भारतको लुदियाना पञ्जाब स्थित ओपोलो अस्पतालमा एक महिनासम्म उपचार गराउँदा करीब ८ लाख बढी जति खर्च भएको परिवार स्रोतले जनाएको छ । उक्त रकम कञ्चनपुरको पुनर्वास स्थित घरनिर रहेको ८.५ कट्टा जमिन बिक्री गरेर जोरजम्मा गरिएको थियो । तर त्यत्ति रकमले गोरखको उपचार सम्भव भएन । आर्थिक अभावका कारण अस्पतालले नेपाल मै उपचार गर्नु भनेर अस्पतालबाट निकालिदिएको गोरखकी श्रीमती बिना नेपालीले बताउनु भयो ।
एकातिर कोरोना कहरका कारण विश्वव्यापी बन्दाबन्दी, अर्कोतिर निक्कै कमजोर आर्थिक अवस्था र भएको जग्गाजमिन पनि विक्रि गरिसकेको अवस्था, त्यसैमा अस्पतालले निकालिदिएको परिस्थिति, उक्त परिवारका लागि अब कुनै विकल्प बाँकी रहेन । त्यत्रो रकम खर्च गरेर गोरखको पूर्ण उपचार त भएन, तर उहाँको ज्यानसम्म बचाउन सकियो । उपचारका लागि थप खर्च नभएर बैशाख देखि गोरखलाई कञ्चनपुरको पुनर्वास स्थित घरमा ल्याएर थन्क्याइएको छ ।
“उहाँको शरीरका अधिकांश भाग अझैपनि निष्कृय छन् । खाना खाने देखि दिशापिसाब गर्ने काममा समेत अरुकै सहारा लिनुपरेको छ । करीब ८ महिनादेखि ओछ्यानमै थन्किएका गोरख बहादुर नेपालीको उपचार र आधारभूत सेवासुविधाका लागि नजिकको सरकार मानिएको वडा र नगरपालिकामा कयौँ पटक हारगुहार गरियो, तर कसैको पनि मन पग्लेन ।” गोरख बहादुर नेपालीका छिमेकी दिलिप सिंह भण्डारीले गुनासो गर्नुभयो ।
गोरख बहादुर नेपाली र उहाँकी श्रीमती बिना नेपालीको अहिलेसम्म नेपाली नागरिकता बनेको छैन । जसका कारणले गोरखको झुपडीमा विजुली बत्ति छैन, साथमा एक छोरा र २ छोरी छन्, उनीहरुले विद्यालय जान पाएका छैनन्, उक्त परिवारको कुनै सदस्यको नाममा पनि बैंक खाता छैन, अतिविपन्न दलित परिवारलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन सकिएको छैन, यसका अतिरिक्त कयौँ सेवासुविधाबाट उक्त परिवार बञ्चित हुनुपरेको छ ।
नेपालमा पनि आर्थिक समस्याकै कारण उहाँलाई उपचार गर्न कहिँकतै लगिएएको छैन । अहिले उहाँको एउटा हात बाहेक अन्य अङ्गहरु चल्दैनन् । परिवारको एक्लो सहारा गोरख नै ९ महिनादेखि थला परेपछि उक्त परिवारमा अहिले साँझबिहानको छाक टार्नै धौधौ भएको छ । यसक्रममा केही सहयोगीदाताहरुले उहाँको अवस्था थाहा पाएपछि केही रकम संकलन समेत हुन थालेको छ । वैदेशिक रोजगारीमा गएका यहाँका युवाहरुले गोरख नेपाली बचाउ अभियान समेत थालेका छन् ।
यसबीचमा केही मनकारी दाताहरुले उहाँको परिवारलाई नगद रकम र लत्ताकपडा तथा खाद्यान्न समेत सहयोग गर्नुभएको छ । सोही क्रममा आइतबार पनि केही सहयोग रकम जुटेको छ । वैदेशिक रोजगारीमा रहेका कञ्चनपुरको बेलौरी १ बस्ने खेमराज शाही र कृष्ण शाही तथा बेलौरीमै रहेर खेलकुद, राजनीतिक र सामाजिक कार्यमा सकृय युवा नमराज शाही सहित तीनै जना दाजुभाइहरुले १३ हजार ५ सय रकम सहयोग गर्नुभएको छ ।
त्यस्तै, सामाजिक कार्यमा सकृय युवा नर बहादुर रोकायाले रु. २ हजार १ सय, विराट फर्निचर उद्योगका सञ्चालक टेक बहादुर शाहीले रु. २ हजार, र बेलौरीका पत्रकार हिक्मत कुमार शाहीले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा २ हजार २ सय रकम गोरख बहादुर नेपालीको परिवारलाई सहयोग गर्नुभएको छ । यसका अतिरिक्त केही अन्य व्यक्तिहरुले पनि सहयोग गर्नेक्रम रहेको छ । सबैका घरमा तिहारको रमाइलो भएपनि गोरखको परिवारमा त्यो रमाइलोको कल्पना समेत गर्न सकिएको छैन ।
गोरख बहादुर नेपालीको उपचारका लागि थालिएको आर्थिक संकलन अभियानलाई थप सशक्त बनाई उहाँको पुनर्जीवनका लागि परिवारजन, छिमेकी र यहाँका युवाहरुले अपिल गरेका छन् । उक्त परिवारले पाउनुपर्ने आधारभूत सेवासुविधा र उपचारमा सहजताका लागि सरकार र सरोकारवाला निकायले समेत ध्यान दिनुपर्ने देखिन्छ । गरीब, विपन्नका नाममा राजनीति गर्ने नेतृत्ववर्गले समेत उक्त परिवारको दुःख वेदना बुझून् । युवाहरुले थालेको अभियानका लागि ती युवाहरु र सहयोगी दाताहरुलाई साधुवाद !