कञ्चनपुर, २८ कार्तिक । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पे नजिकै गएराति बस दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका सबैको सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउने मध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरकी १५ वर्षीया कृतिका कार्की र भीमदत्त नगरपालिका १० की विष्ना धामी, कैलालीको धनगढीका नरेन्द्र चौधरी र ऋषिराम चौधरी, बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तड घरभई कञ्चनपुरको पुनर्वासमा कार्यरत २५ वर्षीय प्रहरी जवान रण बहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करन सिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटका स्थानीय एवं अपि पथप्रर्दशक मावि मार्मा ६ का शिक्षक जगन्नाथ ओझा र लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँका स्थानीय एवं पुर्वसचिव तर्कराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुला र बैतडीको सीमा क्षेत्र गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते हुनेहरुमा कञ्चनपुरका १० जना, बैतडीका ८ जना, दार्चुलाका ६ जना, कैलालीका ६ जना, काठमाण्डौका ३ जना र अछामका १ जना गरी ३४ जना छन् । उक्त दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालिका ७ का २४ वर्षीया बिमला कुवँर र उनका २ वर्षीय छोरा नितेश कुवर, बेलडाँडी ३ का नरेन्द्र सिंह साउद, शुक्लाफाँटा नगरपालिका ६ का ६५ वर्षीया नर्मा धामी र सोही ठाउँका ५५ वर्षीय हर्क बहादुर धामी, भिमदत्त नगरपालिका २ का २५ वर्षीय दशरथ गिरी, भिमदत्त नगरपालिका ६ का २४ वर्षीया दिपा चन्द, भिमदत्त नगरपालिका १ का ३५ वर्षीय नरेश पन्त, भिमदत्त ८ का ३० वर्षीया कल्पना कार्की, सोहि ठाँउका ६ वर्षीय कौशल सावद गरी कञ्चनपुरका १० जना रहेका छन् ।
बैतडीको दोगडाकेदारका २८ वर्षीय विरेन्द्र कार्की, २२ वर्षीय नितेश भट्ट, २७ वर्षीय अमृत बिक, २२ वर्षीय बिमला बडु जोशी र उहाँका छोरा सुशांक जोशी, डिलाशैनीका २० वर्षीय जनक धानुक, ३३ वर्षीय लोकेन्द्र बोहरा, पुर्चौडीका २५ वर्षीय सुरज लुहार गरी बैतडीका ८ जना घाइते भएका छन् । यस्तै, दार्चुलाको लेकमका ५१ वर्षीय बल्देव सिह कार्की, शैल्यशिखरका २७ वर्षीय रमेश खत्री र धन सिंह खत्री, मार्माकी ३ वर्षीया सिम्रन सिंह र २४ वर्षीया जानकी सिहं र नौगाड सिप्टीका पुरन टमटा गरी दार्चुलाका जम्मा ६ जना घाइते भएका छन् । यसैगरी, कैलालीको धनगढीका ३५ वर्षीय दिनेश चौधरी, २२ वर्षीय विशाल घर्तीमगर र २३ वर्षीय लोकेन्द्र बस्नेत, गोदावरीका २९ वर्षीय यज्ञराज कठायत र वेद प्रकाश धामी तथा गौरीगंगाका २५ वर्षीय बिरेन्द्र चौधरी सहित कैलालीका ६ जना घाइते भएका छन् । त्यस्तै, काठमाण्डौका १९ वर्षीय अजी लामा, कर्ण बहादुर बिष्ट र २२ वर्षीय अस्मिता बिष्ट रहेका छन् । यसैगरी, अछामको चौरपाटीका २१ वर्षीय अमृत कुमाल पनि घाइते भएका छन् ।
गाडी धनी समेत रहेका चालक बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन् । क्षमता भन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यात्रुहरुका अनुसार, तीब्र गति र बसमा प्राविधिक समस्या आएकोले दुर्घटना भएको बताइएको छ ।
(यो समाचार दार्चुलाका पत्रकार लोकेन्द्र जोशीको सहयोगमा तयार गरिएको हो ।)