हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ का वडावासीले विकास र समृद्धिका बारेमा चिन्ता र चाँसो राखेका छन् । बेलौरी नगरपालिका वडा नं. ३ को आयोजनामा शनिबार श्री जनजाग्रिती पुष्पलाल स्मृति मााविमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वडाका नागरिकहरुले वडा र नगरको समृद्धि र विकासका लागि जनप्रतिनिधि र प्रशासनबाट भइरहेका कामकारवाहीको बारेमा चाँसो राखेका हुन् ।
बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरी, शाखा अधिकृत सुशिला लेखक, नगर प्रवक्ता विनोद नेपाली, वडाध्यक्ष नेत्र राज गिरी, शिक्षा समितिका सदस्य हर्क भुल, वडा खेलकुद समितिका अध्यक्ष मिन कुँवरले वडावासीले राखेका सार्वजनिक समस्या, चाँसो र गुनासाहरुको जवाफ दिनुभएको थियो । वडामा विकास निर्माणका सन्दर्भमा थुप्रै उल्लेख्य कार्य भएको बताउँदै लक्षित कार्यक्रमहरुको उचित व्यवस्थापन गर्नुपर्ने वडावासीहरुको सुझाव रहेको छ ।
वडाको समग्र विकासका लागि लागिपरेको उल्लेख गर्दै नागरिकहरुका सुझावलाई आत्मसात गरी अगाडी बढ्ने बेलौरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नेत्र राज गिरीले बताउनु भएको छ । औपचारिक कार्यक्रमलाई बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा सहजीकरण एन्. बि. मिडिया नेटवर्क, रेडियो बेलौरी र रेडियो सुदूरसञ्चारले गरेको थियो ।
यसैबीच, बेलौरी नगरपालिका वडा नं. ९ ले समेत सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । बेलौरी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शमसेर सिंह पेलाका अनुसार आउँदो जेठ २ गते बिहिबारका दिन श्री सिद्धनाथ मन्दिर प्रांगण खजुवाबस्तीमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने छ ।