हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ कार्तिक । नेपाल–भारत सीमा विवादले बारम्बार चर्चामा आइरहने कञ्चनपुर जिल्लामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फेरि एकपटक गलत कदम अगाडि बढाएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित नेपाल–भारतको विवादित सीमाको निरीक्षण गर्न नेपाली पक्षसंग कुनै समन्वय नै नगरी एसएसबीको टोली खटिएको थियो । यद्यपि सो क्षेत्रका नेपाली नागरिकहरुले प्रतिकार गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली फिर्ता भएको बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरीले जानकारी दिनुभएको छ ।
शनिबार र आइतबारका दिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली नेपाली पक्षसँग कुनै समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणका लागि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० मा प्रवेश गर्यो । शनिबारका दिन केही स्थानीय नागरिकले देखे तर कुनै प्रतिक्रिया दिएनन् । आइतबार पनि त्यसैगरी नेपाली भूमिमा आएर नेपाली नागरिकहरुको जग्गा नाप्न थालेको देखेर नेपाली नागरिकहरुले प्रतिकार मात्र गरेनन्, एसएसबीको टोलीलाई सो क्षेत्रमा अनाधिकृत रुपमा प्रवेश नगर्न चेतावनी दिँदै त्यहाँबाट लखेटेका छन् ।
बेलौरी नगरपालिका वडा नम्बर १० स्थित नेपाल–भारत सीमा स्तम्भ नम्बर ३२ देखि ३५ सम्म नेपाली भूमिमै आएर एसएसबीको टोलीले निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसँग समन्वय नै नगरी एकलौटी रुपमा नेपाली भूमिमा प्रवेश गर्ने, नेपाली नागरिकलाई बारम्बार दुःख दिने, सीमा अतिक्रमणको प्रयास गर्ने भारतीय पक्षको हेपाहा प्रवृत्ति यो पहिलो पटक भने होइन । सो क्षेत्रका नागरिकहरुले कयौँ पटक उनीहरुको हेपाहा प्रवृत्तिको सामना गर्नु परिरहेको बेलौरी १० भुडाका स्थानीय नागरिक गणेश सिंह थापाको भनाइ छ ।
कञ्चनपुर जिल्लाको माहाकाली, भीमदत्त, बेलडाँडी, बेलौरी र पुनर्वासका विभिन्न क्षेत्रमा भारतीय पक्षले बारम्बार सीमा अतिक्रमण गरिरहेको छ । सीमा सर्भेका लागि यसअघि खटिएको सर्भे टोली समेत विवादित स्«टीप नक्सा बोकेर नापजाँचका लागि आउँदा यहाँका नागरिकहरुले ठूलै आन्दोलन गर्नुपरेको थियो । त्यसयता बन्दाबन्दीको समयमा समेत अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरको गठन गरी बारम्बार सरकारको ध्यानाकर्षण समेत गराइएको छ । यद्यपि सरकारी तबरबाट उक्त विवाद समाधानका लागि कुनै ठोस पहल हुन नसकेको अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका सदस्य हरिश पन्तको गुनासो छ ।
दुवै देशको समन्वय र सहकार्यमा सीमा क्षेत्रको नापजाँच गरिनु पर्नेमा भारतीय एसएसबीले देखाएको उक्त प्रवृत्ति खेदजनक छ । कञ्चनपुर लगायत नेपाल–भारत सीमा विवाद देखिएका सबै क्षेत्रमा उच्च स्तरीय कुटनैतिक पहलबाट सीमा सम्बन्धी सम्पूर्ण विवाद समाधान गर्न नेपाल सरकारले यथाशीघ्र पहल गर्नु पर्ने देखिन्छ ।