हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ८, ९ र १० शनिबार दिनभर पनि खुला रहे । आइतबार देखि सुरु हुने नागरिकता वितरणका लागि सिफारिस बनाउने वडावासीको बढ्दो चापलाई मध्यनजर गर्दै शनीबार दिनभर पनि वडा कार्यालय खुला गरी कामकाज गरिएको बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको टोलीले यहि बैशाख २२ र २३ गते वडा नं. ८, ९ र १० मा नेपाली नागरिकता वितरण गर्ने कार्यक्रम रहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो ।
सदरमुकामबाट टाढा रहेको स्थानमा सहज रुपमा नेपाली नागरिकता उपलब्ध गराउने उद्देश्यले नेपाली नागरिकता टोली खटिई नागरिकता वितरण गर्ने कार्यक्रम रहेकोले बेलौरी नगरपालिका वडा नं. ८, ९ र १० का वासिन्दालाई जानकारी तथा आवश्यक सहयोग गरी सर्वसाधारणलाई उपस्थित गराउने व्यवस्था गरिदिन हुन भनी यस अघि नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका कार्यालयलाई पत्र सम्प्रेषण गरेको छ ।
उक्त टोलीले बेलौरी नगरपालिका वडा नं. ८ को कार्यालय भवन कलकत्तामा नागरिकता वितरण गरिने वडा नं. ८ का वडाध्यक्ष नन्द कुमार रानाले बताउनु भएको छ । बेलौरी नगरपालिका र वडा नं. ८, ९ र १० कार्यालयले समेत यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेका छन् ।
यही बैशाख १४ गते सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकमा यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्दा उहाँले मिति निश्चित गरेर टोली पठाउने भनेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले बताउनु भयो ।
यसअघि बेलौरी नगरपालिका वडा नं. ९ का अध्यक्ष शमसेर सिंह पेलाले समेत नागरिकता टोली पठाइदिन प्रमुख जिल्ला अधिकारीलाई थुप्रै पटक आग्रह गरेको बताउनु भयो । उहाँले नागरिकता टोली साविक रामपुर मै खटिने भएपछि नागरिकता बनाउन सदरमुकाम जान नसकेका धेरै नागरिकले नागरिकता बनाउने विश्वास व्यक्त गर्नुभयो ।