हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिकाले नगर क्षेत्र भित्रका बजारहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र खोल्न अनुरोध गरेको छ । विजया दशमीको समयमा नगरपालिकाको बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढ्ने भएको हुँदा यही कार्तिक ११ गतेसम्मका लागि स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्डको पालना गरी उक्त समयावधि भित्र मात्रै बजार खोल्न आग्रह गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमण बेलौरी नगरपालिकामा समेत बढ्दो क्रममा रहेकोले उक्त समयमा मानिसहरुको आवागमन तथा जमघटका कारण कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकोले सुरक्षा सतर्कता बढाइएको नगर प्रमुख चौधरीको भनाइ छ ।
त्यस्तै, बडा दशैको अवसरमा विभिन्न मन्दिर तथा शक्ति पिठहरुमा पूजाआजा गर्ने मानिसहरुको भिड अत्याधिक भई कोरोना संक्रमणको फैलदोँ जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाई नित्य पूजाको लागि बाहेक दर्शनका लागि जमघट नगर्न समेत सबैलाई अनुरोध गरिएको छ । बेलौरी नगरपालिका क्षेत्र भित्र दशैँको अवसरमा सामुहिक रुपमा गरिने नाँचगान, विभिन्न राजनीतिक दल संघसंस्था, क्लब, समुह तथा सञ्जालहरुले भेला भई सञ्चालन गर्ने शुभकामना आदानप्रदान लगायतका क्रियाकलाप सञ्चालन नगर्न समेत सार्वजनिक आह्वान गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो । कुनैपनि अप्रिय घटना भएको वा हुन सक्ने कुरा थाहा पाएमा तुरुन्त सुरक्षा निकायमा जानकारी गराउन समेत अपिल गरिएको छ ।
ध्वनी प्रदुषण हुने गरी चर्को स्वरमा माइक तथा डिजे नबजाउन, अवैध मदिरा उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, होहल्ला नगर्न, चाडपर्वको अवसरमा जुवातास र गैर कानुनी रुपमा चिठ्ठा नखोल्न, पटाका, आतिसबाजी लगायत विस्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्न, ट्र्याक्टरमा एक भन्दा बढी ट्राली जोडेर नचलाउन समेत बेलौरी नगरपालिकाले अनुरोध गरेको छ । घर बाहिर निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, चाडपर्व मनाउँदा एकाघरमा बसोबास गर्दै आएका परिवारका सदस्यहरुको बीचमा मात्र मनाउन, अनावश्यक भिडभाड नगर्न र जात्रा तथा मेलाहरु आयोजना नगर्न सबै नगरवासीहरुमा अनुरोध गरिएको छ ।