हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ कार्तिक । नेपालको तराई क्षेत्र केरा खेतीका लागि समेत उर्बरा भूमी हो । यद्यपि नेपाली बजारमा अहिले पनि भारतीय क्षेत्रबाट केरा आयात गर्ने गरिएको छ । तर पछिल्लो समय पश्चिम तराईमा रहेको कञ्चनपुर जिल्लामा व्यावसायिक केरा खेती फस्टाउँदै गएको छ । व्यावसायिक केरा खेतीमा सकृय राजनीति गर्ने व्यक्तिहरु समेत होमिएका छन् ।
नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य जनक सिंह धामी पछिल्लो समय व्यावसायिक केरा खेतीमा जुट्नु भएको छ । कञ्चनपुरको बेलडाँडी बस्ने नेता धामी र स्थानीय दान सिंह ठगुन्नाले कञ्चनपुरको पुनर्वासमा ५ बिघा बढी जमिन भाडामा लिएर व्यवसायिक केरा खेती गरिरहनु भएको छ । राजनीति संगै कुनैनकुनै व्यवसाय समेत गर्नुपर्छ भन्ने मान्यता अनुसार दुई वर्षदेखि केरा व्यवसायमा लागेको नेता धामीको भनाइ छ ।
राजनीतिमा होमिएका थुप्रै व्यक्तिहरु भ्रष्टाचारको अभियोग खेपिरहेको परिस्थितिमा सकृय राजनीति संगै आत्मनिर्भर हुने गरी व्यवसायमा लागे भ्रष्टाचार न्यूनीकरण गर्न सकिने नेता धामीको विश्लेषण छ ।
भाडामा लिएको जमिनमा ‘जि ९’ प्रजातिको केरा खेती गरिएको छ । ५ बिघा जमिनमा करीब १६ लाख लागत खर्च भएकोमा वार्षिक २४ लाख जति आम्दानी हुने अपेक्षा रहेको अर्का केरा व्यवसायी दान सिंह ठगुन्नाको भनाइ छ । अन्य नगदे बाली भन्दा केरा खेतीबाट मनग्य आम्दानी गर्न सकिने भएपनि केराको बजार भाउ, बिउविजन, मलखाद लगायत प्राकृतिक प्रकोपका कारण केरा खेतीमा चुनौती थपिएको छ ।
पछिल्लो समयमा स्थानीय, प्रदेश र संघीय सरकारले कृषि व्यवसाय प्रवर्धनका लागि थुप्रै बजेट विनियोजन गरेको पाइन्छ । यद्यपि उक्त बजेटको सफल कार्यान्वयनमा भने प्रश्न चिन्ह लाग्ने गरेको छ । सम्बन्धित निकायबाट कृषकका समस्याहरुको दीर्घकालीन समाधान गरी प्रोत्साहनका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।